बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन – Nepal Press

बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीमा फसेका मेलम्ची खानेपानी आयोजना ७८ कामदारलाई उद्धार गरिएको छ ।  ८ जना भने अझै सम्पर्कविहीन छन् ।

हेलम्बु गाउँपालिका-१ आम्बाथानमा रहेको आयोजनाको हेडवर्क्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता छन् । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं अस्पताल पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।

मंगलबारको लगातार वर्षासँगै हेलम्बुको आयोजनामाथिबाट पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको केही संरचनामा क्षति पुगेको छ । मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो । सो क्रममा कामदारहरू बाढीमा फसेका थिए ।

बाढीले आयोजनाको क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक तथा पुललगायतका सरंचना बगाएको छ। आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको देखिएको छ भने आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको पन्तले जानकारी दिए ।

यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । हेडवर्क्सनजिकैको क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार शुरू गरेको थियो ।

बाढीले मेलम्ची बजारको दुई सयभन्दा बढी घरहरू डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *