मधेसका महिलाको आर्थिक क्रान्ति ! ३ हजार बचतले डेढ करोडको जेथा – Nepal Press

मधेसका महिलाको आर्थिक क्रान्ति ! ३ हजार बचतले डेढ करोडको जेथा

लहान । बिहान बेलुकाको छाक टार्न र एक सरो आङ छोप्नका लागि लहान-१ की ५५ वर्षीया घुरनीदेवी रामले बनिबुतो गर्दा गर्दै आधा जीवन गयो । घामपानी, दुख बिराम नभनी रातदिन मेहनत गर्दा पनि पेटभरी खाने दिन कहिल्यै आएन ।

‘साहू महाजनका घरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कामगर्दा ३ किलो धान पाइन्थ्यो,’ उनी सम्झिन्छिन् ।

रामजस्तै गरीव विपन्न सयौं महिलाहरूको जीवन यस्तै ‘कठोर परिश्रम गर्ने तर भोकै मर्ने’ अवस्थामा छन् । कमाइ भए खाने, नभए भोकै सुत्ने परिवार कति छन् ? भन्ने वास्तविक तथ्यांक कसैसँग छैन ।

४ छोरी, १ छोरासहित ६ जनाको परिवारकाे जिम्मा एक्लै घुरनीदेवीकाे काँधमा थियो । छोराछोरीलाई आफ्नाे एक्लो कमाइले पेट भरी खुवाउन पनि कहिल्यै नसकेको उनको अनुभव छ ।

भन्छिन्, ‘श्रीमानले जति कामयो, त्यति रक्सी खाएर सक्थे ।आफ्नो परिवार बस्ने फुसले छाएको सानो घर छ । न त पानी छेक्थ्यो, न त घाम नै । टाउको लुकाउने ठाँउ थिएन ।’

अहिले रामको अवस्था सुध्रिएको छ । उनको जीवनमा कुनै चमत्कारै भएको भने होइन । २० बर्ष अघि लहानमा खोलिएको स्वावलम्बन विकास बैंक कालान्तरमा उनको जीवनको काेशेढुंगा बनिदियाे ।

बैंकले त्यतिबेला ऋण लगानीका लागि घर-घरमा गएर महिलाहरूलाई संगठित गर्ने काम  गर्थ्याे। चरम गरीवीसँग जुधिरहेकी घुरनीदेवी र उनका छिमेकीलाई बैंकले समूहमा बसेर ऋण लिन र सानो व्यवसाय गर्न प्रेरित गर्‍यो ।

उनी भन्छिन्, ‘बैंककै सल्लाहमा तीन हजार रूपैयाँ किस्तामा ऋण लिएर लहान बजार चाेकमा फलफुल पसल शुरु गरेकाे हुँ ।’

उनले तीन हजार रूपैयाँ कर्जा लिएबापत हप्ताको तीस रुपैयाँ किस्ता तिर्नुपर्थ्याे । पहिलो चरणमा लिएकाे कर्जा तिरेपछि दोस्रो चरणमा ६ हजार रूपैयाँ लिएको रामले बताइन् ।

उनले भनिन्, ‘त्यसपछि हप्ताको ६० रूपैयाँ किस्ता तिर्नुपर्थ्याे । किस्ता तिर्दै ‘सदाउदै’, गएँ,’ उनले थपिन, ‘तीन हजारबाट शुरू गरेको व्यापार त्यसैमा थप्दै गएँ, थप्दै गए, अहिले चार लाख रूपैयाँकाे लगानी पुग्याे ।’

खुसीको अनुभुति गर्दै उनी स्मरण गर्छिन्, ‘व्यापार औधी चल्यो, एउटा पसलले थेग्न सकेनौं र दुईवटा पसल एकै पटक चलायौं ।’ उनको अर्काे एउटा पसल छोरीहरूले चलाएर साथ दिएका छन् ।

आफ्नै कमाइले बनाएकाे पक्की घरमा घुरनीदेवी । तस्बिर: यमुना

अहिले उनले पसलकै आम्दानीबाट १० धुर जग्गामा एक तल्ले पक्की घर बनाएकी छन् । पाँच कठ्ठा खेत किनेकी छन् । अरु घडेरी पनि जोडेकी छन् । घर, घडेरी र खेती गरेर अहिलेको मूल्यमा डेढ करोड रूपैयाँ बराबरकाे हुन्छ । बाँकी आम्दानीले तीन छोरीको बिबाह समेत गरिन् । यो सबै त्यही ३ हजारको बिउ पूँजीबाट सम्भब भएको हाे ।

000

लहान नगरपालिका-२० की ३५ बर्षीया उर्मिला महतोलाई पनि ज्यालादारीको कमाइले ४ जनाको परिवार चलाउन धौ-धौ थियो । जमिनका नाममा घरघडेरी मात्रै थियो । ‘श्रीमान् काठ फर्निचरमा काम गर्दा दिनको पाँच सय रूपैयाँ ‘रोजी’ मिल्थ्यो, म हाट बजारबाट तरकारी किनेर ल्याई बजारमा बेच्थें ,’ महताे भन्छिन् ।

उर्मिलाका अनुसार उनीहरू दुबैजनाको कमाईबाट ‘आश्रम’ (दैनिकी) चलेको छ । थपिन्, ‘चामल, ‘आँटा’ किनेरै खान्छौं, हरेक सामान नुनदेखि हर्दि सम्म सबै थोक किनेर खान्छौं । दुःखले दुई जनाको कमाइबाट गाँस कटाएर त्यतिबेला केही रूपैयाँ बचत गर्‍यौं, अहिले त्यही हाम्रोलागि मुख्य आधार बनेको छ ।’

महतो दम्पत्तीले ‘जनबनी’ले परिवार चलाउन गाह्रो भएपछि छिमेकी बैंकबाट किस्ता उठाउने सल्लाह गरे । आफूले कमाएको पैसा र बैंकबाट लिएको दुबै जोडेर श्रीमानका लागि सिटीरिक्सा किने । श्रीमान्ले सिटी रिक्सा चलाउन थालेपछि उनीहरूको परिवारमा ठूलो राहत भयो ।

‘रिक्साले दैनिक हजार रूपैयाँदेखि कहिलेकाही त दुई हजारसम्म कमाइ हुन थाल्यो । दुबैजनाको आम्दानीले बिस्तारै सिटी रिक्सा किन्न लिएको किस्ता पनि ‘फर्‍याइ’ दियौ,’ उनले आफ्नै लवजमा भनिन्, ‘गाडी चलाक पेटो चलेलियै आ किस्तो सदादेलियै (गाडी चलाएर पेट पनि चलायौं र गाडीको कर्जा पनि ‘सदायौं’ ) ।’

रिक्साको कमाक्ष र बैंकको सहयोगले परिवारलाई आम्दानी मात्रै दिएन खुशी, आँट र हिम्मत पनि दियो । फेरी बैंकबाट ऋण लिएर एक लाख २० हजारमा किनेको भैंसीले अहिले दैनिक सात लिटर दुध दिन्छ ।

दूध विक्रीका लागि साइकलमा बजार जाँदै उर्मिला । तस्बिर: यमुना ।

‘दुई लिटर दुध घरमा खान्छौं, पाँच लिटर दुध दैेनिक बजार लगेर बेच्छु ।’ दुध बेचेर दिनको पाँच सय रूपैयाँ थप कमाइ हुन्छ,’ मख्ख पर्दै उनले सुनाइन् ।

श्रीमानले सिटीरिक्सा चलाउँछन् । उनी दुध बिक्री गरेर बाँकी समयमा तरकारी पनि बिक्रि गरिरहेकी छिन् । दुबैको मिहिनेतले परिवार मात्र चलेको छैन, बचत गर्ने र सरकारी विद्यालयमा पढीरहेका छोराछोरीलाई नीजि विद्यालयमा सारेका छन् ।

महतोको परिवारमा महिलाले नै घरको काम गर्नु पर्ने, वस्तु स्याहार्नु पर्छ भन्ने परम्परागत मान्यता छैन । दुबैजनाले मिलेर घर र बाहिरको काम सम्हाल्छन् । दुबैजना ४ बजे बिहानै उठ्छन् । एक जनाले खाना बनाउने र अर्कोले भैंसीको स्याहार गर्छन् । दुई छोराछोरी लहानको काठमाडौं एकेडेमी स्कूलमा अध्ययन गर्दैछन् ।

श्रीमती विहान लहान बजारमा विभिन्न मानिसहरुको घरघरमा गएर दुध पुर्‍याउँछिन् । श्रीमान मंगल महतोले बजारमा सिटीरिक्सा चलाउँछन् । रिक्सा लिएर बजार जानेबेलामा छोराछोरी र श्रीमतीलाई गाउँबाट तीन किलोमिटर पर रहेको लहान बजारसम्म पुर्‍याउँछन् ।

श्रीमती दुध बेच्न थाल्छिन् । छोराछोरी स्कूल जान्छन् । सिटी रिक्साले गर्दा छोराछोरीलाई आफै स्कूल पुर्‍याउने र लिएर घरजाने काम गरिरहेका छन् । श्रीमतीलाई समेत बजार आउन सजिलो भएको छ । उनीहरूको परिवारका दैनिकी हिजो आज स्वर्ग जस्तै चलेको महतोकाे अनुभव छ । उनले भनिन्,‘यो सबै छिमेक विकास बैंकको सहयोगले सम्भव भएको हो ।’

०००

घुरनीदेवी र उर्मिलाजस्तै धेरै महिलाहरूले सिरहा जिल्लामा बिभिन्न सहकारी र विकास बैंकहरूमा आबद्ध भएर ऋण सुविधाको उपयोग गरिरहेका छन् । महिलाहरूले सहकारी या अन्य वित्तीय संस्थामा सानो रकम जम्मा गरेर बचत गर्ने गरेको पाइएको छ । महिलाहरु ऋण लिएर उत्पादनमुलक काम गर्न थालेका लहान नगरपालिका-१ मा संचालित राधाकृष्ण उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिमला केसीले बताइन् ।

केसीले शुरूमा महिला विकास कार्यलयको लहान शाखाले बनाएको समूहमा आबद्ध भएर लामो समयसम्म समूह बचत गरेको बताइन् । उनका अनुसार उक्त समूहलाई समिति बनाएर वि.सं. २०६७ सालमा बचत तथा ऋण सहकारी संस्थामा परिणत गरेका हुन् ।

केसी भन्छिन्, ‘शुरूवातमा हामी पनि महिनाको २० रूपैयाँ जम्मा गर्थ्याैं, अहिले त्यही संस्थामा एक सय ३० जना महिला र ९० जना किशोरीहरू सेयर सदस्य छन् ।’

केसीले संस्थामार्फत बिभिन्न किसिमका तालिम दिने, बचत गर्ने बानीको बिकास गराउने र ऋण लगानी गर्ने काम गरिँदै आएको बताइन् । यसले स्थानीय महिला संगठितसमेत भएका छन् ।

‘आर्थिक रूपमा महिलाहरूले सानो ठूला व्यापार व्यवसाय गरेर आर्थिक रूपमा सवल भएका छन्,’ केसीले थपिन् ।

संस्थाबाट ऋण लिने महिलारू अहिले धेरै छन् । धेरैजसो महिलाहरूले फलफूल तथा तरकारी पसल सन्चालन गरेका छन् । कोही सिटीरिक्सा किन्न, कोही छोरा वा श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन त कोही पसल व्यवसाय गर्न ऋण लिन्छन् ।

समूहमा बस्न थालेदेखि महिलाहरुको संगठित हुने, आफ्ना समस्याबारे बोल्ने बानीको विकाससँगै आर्थिक सशक्तीकरण हुने माध्यम भएको उदाहरण आफू स्वयं भएको उनले बताइन् ।

श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुशीलचन्द्र अधिकारीले पनि समूहमा बसेर महिलाहरूले ठूलो उन्नति गरेको बताए । अधिकारी २०५४ सालदेखि सहकारीको अध्यक्षको रूपमा रहेका छन् । उनका अनुसार समूह सहकारीमा बसेर महिलाहरूले उल्लेख्य प्रगति गरेका छन् । महिलाहरूको शिक्षा, स्वास्थ्यमा पहुँच बढ्नु , संस्कार र जीवन शैलीमा आउने परिवर्तन पनि सहकारीमा आवद्ध भएकोले नै हो भन्ने उनकाे ठम्याइ छ ।

‘पुरुषकाे तुलनामा महिलाहरु इमानदार हुन्छन्, उनीहरूको क्षमताभन्दा बढी ऋण सुबिधा दिए मात्रै खराब हुन्छ,’ अधिकारीले आफ्नाे अनुभव सुनाए ।  ९९ प्रतिशत महिलाहरू असल ऋणीका रूपमा पाएको उनले बताए । ऋण लगानी गर्दा उनीहरूको योग्यता, आम्दानी खर्च गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्नु पर्ने सुझाव अधिकारीको छ ।

प्रतिक्रिया

One thought on “मधेसका महिलाको आर्थिक क्रान्ति ! ३ हजार बचतले डेढ करोडको जेथा

  1. प्रस्तुति सारै राम्रो छ । गर्दा हुन्छ भन्ने प्रमाण र इमानदारिता देखाए जीवन सरल हुनेछ – ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *