१६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस – Nepal Press

१६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस

एजेन्सी । सर्जियो रामोसले रियल मड्रिड छाड्ने निश्चित भएको छ । क्लबले लामो समयदेखिको कप्तानको विदाई पत्रकार सम्मेलन विहीबार आह्वान गरेको छ ।

सन् २००५ मा सेभियाबाट अनुबन्धित भएयता ३५ वर्षीय रामोसले रियलमा ५ ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले रियलका लागि ६ सय ७१ खेलमा १ सय १ गोलसमेत गरेका छन् । सेन्टर डिफेण्डरका रुपमा उनी सर्बाधिक गोल गर्ने खेलाडीसमेत हुन् ।

क्लबले आफ्नो विधानअनुसार सम्मान र विलाईका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ । रामोसको रियलसँगको सम्झौता जुनको अन्तिममा सकिँदैछ ।

सेभियाबाट करिअर सुरु गर्न थालेका यी स्पेनिस डिफेण्डरलाई फ्लोरेन्टिनो पेरेजले पहिलोपल्ट रियलको अध्यक्षता संहालेपछि कीर्तिमानी रकममा अनुबन्ध गराएका थिए । त्यसपछि उनी आफ्नो समयको महान सेन्टर डिफेण्डर बने । रामोसले सान्टियागो बर्नबाउमा रहेर २२ उपाधि जिते ।

सन् २०१४ को च्याम्पियन्स लिग फाइनलमा चीर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्ध ९३ औं मिनेटमा गरेको बराबरी गोलका लागि रामोसलाई सबैभन्दा धेरै सम्झिइन्छ । रियलले दशौंपल्ट च्याम्पियन्स लिग जित्ने क्रममा अतिरिक्त समयमा ४–१ को जित पाएको थियो ।

रियलको प्रस्तावमा सहमत नभएपछि फ्री ट्रान्सफरमार्फत रामोस बाहिरिन लागेका हुन् । उनी कुन क्लबबाट खेल्नेछन् भन्ने नश्चित भएको छैन ।

रामोसलाई फिटनेसको कारण देखाउँदै लुइस इनरिकेले युरो २०२० का लागि स्पेनिस टिममा राख्न अस्वीकार गरिदिएका थिए । यी डिफेण्डरले स्पेनका लागि पनि १ सय ८० खेल खेलेका छन् र सन् २००८ र २०१२ को युरो तथा सन् २०१० को विश्वकप उपाधि जितेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *