बौरिँदैछिन् निशा, डाक्टरहरु सुनाउँदैछन् संगीत – Nepal Press

बौरिँदैछिन् निशा, डाक्टरहरु सुनाउँदैछन् संगीत

अस्पतालमा सहयोगदाताको घुँइचो

काठमाडौं । उपचार अभावमा तीन वर्ष अर्धचेत अवस्थामा कुँजिएर बसेकी मोडल निशा घिमिरेले पुनर्जीवन पाउँदैछिन् । यसै साता नर्भिक अस्पतालले निःशुल्क उपचारको जिम्मा लिएपछि अहिले उनमा नयाँ जीवनको आशा पलाएको छ ।

निशालाई जेठ २७ गते नर्भिकमा भर्ना गरिएको थियो । एक हप्तामै स्वास्थ्यमा सुधार देखिएको चिकित्सकहरुले बताएका छन् । यद्यपि पुरानै अवस्थामा फर्किन सक्ने सम्भावनाबारे अहिल्यै भन्न नसकिने उनीहरुको भनाइ छ । निशाका बुबा प्रेमप्रसाद घिमिरे छोरीले स्वास्थ्यलाभ गरिरहेकोप्रति खुशी व्यक्त गरे ।

‘अहिले हल्का कराउन सक्ने भएकी छे । आफूलाई एक्लै नछोड्न भन्दै प्रतिक्रिया जनाएकी छे,’ हर्षित सुनिएका बुबा प्रेमप्रसादले भने, ‘अहिले रियाक्सन गर्न सक्ने भएकी छे । एक साता नहुँदै सुधार देखिएकोमा म खुशी छु ।’

तीन वर्षअघि अभिनय पढ्न भारतको देहरादून पुगेकी निशाको सवारी दुर्घटनामा ब्रेन इन्जुरी भएको थियो । त्यो अकल्पनीय घटनाले उनको जीवन तहसनहस मात्र भएन, उपचार अभावले गर्दा परिवारले घरखेत नै बेच्नुपर्‍यो । काठमाडौंको ट्रमा सेन्टरमा तीन महिना राखेर पनि उपचार हुन नसकेपछि निशाको सुन्दर जीवनलाई लिएर परिवारले माया मारिसकेका थिए ।

तर, नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी मेघा चौधरी निशाको जीवनमा देवदूत बनेर आए । उनीहरुले निःशुल्क उपचारको पहल मात्र गरेनन्, अहिले देखिनेगरी निशाको उपचारमा सघाएका छन् । उनीहरुकै सक्रियतामा अहिले देश तथा विदेशबाट निशालाई आर्थिक सहयोग जुटिरहेको छ । यसअघि केही सामाजिक संस्थाले पनि धेरथोर सहयोग त गरेका थिए तर, यसपटक भने उनको उपचारमा अभियानै चलेको छ ।

नाम चलेका सेलेब्रिटी र सामाजिक अभियन्ताले गच्छेअनुसार निशाको परिवारलाई आर्थिक सहयोग गरिरहेका छन् । अहिले निशाका बुवा प्रेमप्रसाद, नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल र चलचित्र कलाकार संघका मोहन निरौलाको नाममा कृषि विकास बैंकमा ‘निशा घिमिरे संरक्षण कोष’को खाता खुलेको छ ।

हालसम्म उक्त खातामा झण्डै दुई लाख रकम संकलन भएको छ । अझै लाखौं सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने धेरैजनाले उक्त खाता सक्कली हो वा नक्कली भन्नेबारे बुझिरहेका छन् । अहिले प्रेमप्रसाद उक्त खाताको वास्तविकता बताउँदैमा व्यस्त छन् ।

नेपाल प्रेससँग कुरा गर्दै बुबा प्रेमप्रसादले अहिले प्राप्त भैरहेको आर्थिक संकलन उपचारपछि निशाको पालनपोषण, हेरचाह र निरन्तर उपचारमा खर्च गरिने बताए । अस्पतालले सबै उपचार निःशुल्क गर्ने जिम्मा लिएपछि परिवार खुशी त छ नै, उनी आबद्ध चलचित्र क्षेत्र र परिवारमा पनि खुशी छाएको छ ।

भर्ना लिनुअघि नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दैैै आफै हिँड्डुल गर्न सक्ने र खाना खान सक्ने गरी स्वास्थ्य सुधारमा सघाउने जनाएको थियो । पुनः मोडलिङ गर्न सक्नेगरी ठीक हुन नसक्ने भएपनि तंग्रिन सक्नेगरी स्वस्थ बनाउन नर्भिक जुटिरहेको छ ।

म्युजिक थेरापीबाट उपचार हुँदै

नर्भिक अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बाँस्तोलका अनुसार अहिले निशाको उपचारमा हरसम्भव सबै उपचारका विधि प्रयोग गरिएको छ । चिकित्सकले सोमबारदेखि म्युजिक थेरापीबाट पनि उपचार गरिरहेका छन् । हिन्दी र नेपाली गीत बजाएर निशाको कानमा इयरफोन लगाएर डाक्टरले केही सुधार हुने आशा गरेका छन् । बाँस्तोलका अनुसार म्युजिक थेरापीबाट उपचार गर्दा निशामा केही उज्यालो प्रतिक्रिया मिलेको ।

गीत सुन्दा शरिर र अनुहार चलमलाउने गरेको उनको भनाई छ । तत्काल चमत्कारिक रुपमा स्वास्थ्यमा सुधार नहुने भएपनि तत्कालका लागि तंग्राउनको लागि पोषणयुक्त इन्जेक्सन दिइएको छ । न्युट्रिसियन इन्जेक्सन दिँदा शरिरमा तागत सिर्जना हुने जनाइएको छ । ‘पहिले हेरचाह नहुँदा समस्या भएको थियो तर, अहिले उपयुक्त हेरचाहले गर्दा सुधार आइरहेको छ’ बाँस्तोलाले नेपाल प्रेसलाई भने ।

अस्पतालमा सहयोगदाताको ताँती

निशालाई अस्पताल भर्ना गरिएपछि पनि अहिले सामाजिक संजालमा उनलाई सघाउन अभियान चलिरहेको छ । टीकटक, फेसबुक र युट्युवमा रकम संकलन भैरहेको छ । निशालाई अस्पतालमा दिनहुँ भेट्न चाहने सेलेव्रिटी, पत्रकार र सामाजिक अभियन्ताको भीड अहिले नर्भिक अस्पतालमा छ । बाँस्तोलाले थामिनसक्नुको भीड भएको र व्यवस्थापन गर्न हम्मे परेको बताए । ‘कोभिडको कारण पनि अहिले कडाइ गर्नुपर्ने भएको छ’ उनले भने, ‘भीड हेर्दा अहिले कलाकारिता क्षेत्र जागेको महसुस हुन्छ ।’

चलचित्र कलाकारहरु दिनहुँ पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सघाउने वचन गरिरहेको देखिन्छ । विहिबार अस्पताल पुगेकी अभिनेत्री आँचल शर्माले निशालाई भेटेर उनका बुबा प्रेमप्रसादलाई १ लाख रुपैयाँ नगद सहयोग गर्ने बचन दिइन् । निशालाई भेट्दा आफू भावुक भएको र स्वास्थ्यमा सुधार आउँदा आफू हर्षित भएको आँचलले बताइन् ।

‘भविष्यमा अरुलाई पनि सहयोग गर्नुपर्ने हुनसक्छ र समस्यामा चलचित्र क्षेत्रका सबैजना एकजुट हुनुपर्छ’ आँचलले भनिन्, ‘उपचार र अन्य कुराको लागि पनि निशालाई सहयोग गर्नुपर्ने देखिएकाले १ लाख दिने निधो गरेकी हुँ ।’

बुधबार अस्पताल पुगेकी अभिनेत्री करिश्मा मानन्धरले निशाको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरिन् । चलचित्र कलाकार संघको पहलमा ६७ हजार नगद दिइएको छ । अष्ट्रेलियाबाट नायक निशान्त कार्कीको पहलमा उठेको १ लाख १२ हजार रुपैयाँ पनि परिवारलाई दिइएको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ उपलब्ध गराएको छ । व्यक्तिगत र संस्थागत रुपमा पनि अहिले निशालाई सहयोगको ओइरो ओइरो लागेको छ ।

समयमै सहयोग हुन पाएन

झन्डै तीनवर्ष जिउँदो लासजस्तै भएर निशाले जीवन बिताउनुपर्‍यो । यो समयसम्म उनको परिवारले छोरीको महंगो उपचारका लागि घरखेत बेचिसकेको थियो । बुवा प्रेमप्रसादले छोरीलाई भैंसेपाटीको एक टिनको झुपडीमा जसोतसो पालेर राखेका थिए ।

उपचार महंगो भएपछि यो परिवारले सबै सम्पत्ति सिध्याइसकेको छ । गाईको दूध बेचेरै प्रेमप्रसादले हातमुख जोर्न जोहो गरिरहेका थिए । निशालाई ट्रमा सेन्टरमा उपचार हुँदै गर्दा पनि उनको स्वास्थ्य अवस्थालाई लिएर मिडियामा कभरेज भएकै थिए । एकाध मनकारीले सहयोग पनि नगरेका होइनन् तर, अहिलेको जस्तो सहयोगको बाढी त्यतिबेला देखिएन ।

जुन समय निशालाई सहयोग जरुरी थियो, सो समय उनको परिवारले छोरीलाई कुँजाएर राख्नुपर्‍यो । उपचारका लागि सबै सम्पत्ति सकेपछि बुबा प्रेमप्रसादले छोरीको भविष्य भगवान भरोसमा छाडिदिए र भैंसेपाटीको छाप्रोमा लगेर राखे । तीनवर्ष जिउँदो लासकै अवस्थामा निशा कुँजीएर बस्नुपर्‍यो ।

‘त्यतिबेला आर्थिक समस्या भएको हो र हामीले छोरीको उपचारका लागि सबै प्रयास गरेका हौं’ बुबा प्रेमप्रसादले भने, ‘अहिले धेरै क्षेत्रबाट सहयोग मिलिरहेको छ । भगवानकै आशामा हामीले छोरीलाई छाड्यौं । कलियुगमा पनि भेटिनुभयो र त अस्पतालमा छोरीलाई ल्याएका छौं ।’ अहिले प्रेमप्रसाद छोरीको भविष्यलाई लिएर आशावादी छन् ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म मधेशीपूत्र २ मा मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनले डियर जिन्दगी टेलिश्रृंखला र केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । काठमाडौंको मायानगरीमा हिरोइन बन्ने सपना लिएर हेलिने सयौं युवतीको एक प्रतिनिधि पात्र हुन् निशा, जो सपना सजाउन संघर्षरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *