युरो २०२०मा ‘स्लो स्टार्ट’ गरेको स्पेन कठिन मोडमा पुगेको हो ? – Nepal Press

युरो २०२०मा ‘स्लो स्टार्ट’ गरेको स्पेन कठिन मोडमा पुगेको हो ?

काठमाडौं । युरो २०२० का लागि खेलाडी छनोटमा ‘बोल्ड’ देखिएका स्पेनिस मुख्य प्रशिक्षक लुइस इनरिकेले मिडियाको आलोचना सहनु परेको थियो । युरो किक अफ हुनु अगाडिदेखि नै सामान्य दबाबमा रहेका इनरिकेको टोलीले युरो २०२० को आफ्नो पहिलो खेलमा सोमबार राति स्वीडेनसँग गोलरहित बराबरी खेल्यो । समूह ‘ई’मा रहेको तीन पटकको च्याम्पियन स्पेनले प्रतियोगितामा धमाकेदार सुरुआत गर्न सकेन ।

सेभियामा भएको स्वीडेनविरुद्धको खेलको अन्त्यमा केही घरेलु समर्थकले आक्राेशपूर्ण सिठ्ठी बजाउँदा खेलाडीहरू चुपचाप लागेर मैदान छाडेका थिए । तर, पहिलो खेलमा बराबरीमा रोकिएसँगै के स्पेन चिन्ताजनक अवस्थामा आइपुगेको हो त ? कि स्पेनले राम्रो कम ब्याक गर्छ ?

फिनिसिङमा देखिएको समस्याले स्पेनलाई कमजोर पार्छ ?

स्वीडेनविरुद्धको खेलमा ८५प्रतिशत बल पोसेसनमा प्रभुत्व जमाएको स्पेनले १९८० यताकै युरोपियन च्याम्पियनसिपमा सर्वाधिक ९१७ पास खेलेको थियो । तर, स्पेनको उत्कृष्ट अप्रोच र शानदार प्रदर्शन फिनिसिङमा ‘कन्भर्ट’ हुन नसक्दा खल्ल सावित भयो ।

पहिलो हाफमा मात्रै ड्यानी ओल्मोको हेडर, कोकेको प्रयास र अल्भारो मोराटाको प्रहार सबै टार्गेटमा परेनन् । यी सबै मौकामा गोलको प्रवल सम्भावना थियो । तर, फिनिसिङमा चुक्दा स्वीडिस डिफेन्समाथि स्पेनिस आक्रमण हाबी हुन सकेन ।

सुरुआती-११ मा भिलारियालका लागि गत सिजन ३० गोल गरेका जेरार्ड मोरेनोको स्थानमा मोराटाको छनोट प्रशिक्षक इनरिकेका लागि द्वुविधाजनक सावित भयो । उत्कृष्ट फर्ममा रहेका मोरोनोमाथि मोराटाले मौका पाए पनि प्रशिक्षकको विश्वासलाई न्याय गर्न सकेनन् ।

‘यदि १० पास बराबर एक गोल हुन्थ्यो भने, स्पेन कति अगाडि हुन्थ्यो ?,’ पूर्व इङ्लिस खेलाडी करेन कार्ने भन्छन्, ‘म बेल्जियम र लुकाकुबारे सोचिरहेको छु । उनी जस्तै उत्कृष्ट फर्ममा रहेका एक क्लिनिकल फिनिसर स्पेनले ‘मिस’ गरिरहेको छ । उनीहरूसँग चाहिएको सेन्टर फरवार्डबाहेक सबैछन् ।’

‘स्पेनले आरोप लगाउने आफैँलाई मात्रै हो,’ इङ्ल्यान्डका पूर्व कप्तान एलेन सेरर भन्छन्, ‘उनीहरूले पर्याप्त मौका सिर्जना गरे तर फिनिसिङमा असफल हुँदा गोल गर्न सकेनन् ।’

स्पेनबाट पहिलो पटक प्रतियोगिता खेलिरहेका म्यानचेस्टर सिटीका डिफेन्डर आमेरिक लापोर्टले मोराटाको बचाउ गर्छन् ।

‘मोराटाले के गर्न सक्छन् हामीलाई थाहा छ,’ उनले भने, ‘आज उनको पक्षमा देखिएन यो सत्य हो, तर अर्को खेलमा उनले गोल गरेर सबैको मुखमा बुजो लगाइदिने छन् । हामीले अर्को खेल जित्नै पर्नेछ ।’

‘सिठ्ठी नबजाएको भए हुन्थ्यो’

स्पेनले प्रतियोगितामा ‘स्लो स्टार्ट’ गरेको छ । यो सत्यबाट टोली भाग्न सक्दैन । तर, २०१० मा स्पेनले पहिलो खेलमा स्वीटजरल्यान्डलाई १-० को झिनो अन्तरले पराजित गर्दै यात्रा सुरु गरेर विश्वकप नै जितेको थियो ।

यसपालीको युरोमा स्पेनले समूह चरणका सबै खेल सेभियामै खेल्ने छ र पक्कै पनि आगामी स्लोभाकिया र पोल्यान्डविरुद्धका खेलमा घरेलु समर्थकको समर्थनको अपेक्षा गर्नेछ ।

‘यदि समर्थकले सिठ्ठी बजाए पनि उनीहरू निरुत्साहित हुनु हुँदैन । र, म आशा गर्छु उनीहरूले बजाउँदैनन् पनि,’ स्पेनका डिफेन्डर मार्कोस लोरेन्टले भने, ‘हामीसँग अझै समूह चरणका दुई खेल अझै बाँकी छन्, र समर्थकको साथ महत्त्वपूर्ण हुनेछ ।’

यस्तै लापोर्टले भने, ‘हामीले सिर्जना गरेका मौका र हामीले गरेको प्रयासलाई लिएर टोलीले निराश हुँदै मैदान छाडेको थियो । तर, हामीसँग अझै दुई खेल बाँकी छन् र हामी ती खेलमा अझै राम्रो गर्ने प्रयास गर्नेछौं । यदि हामीले त्यस्तै १० खेलमा खेल्ने हो भने ९ खेल पक्कै थियौँ ।’

‘हामी चिन्तित छैनौ । आज हाम्रो दिन थिएन । तर, छिट्टै हाम्रो समय आउने छ,’ लापोर्टले भने ।

‘हो, निश्चय पनि हामी समर्थकबाट त्यस्तो समर्थनको अपेक्षा गर्छौं,’ प्रशिक्षक लुइस इनरिकेले भने, ‘यो नै फुटबल हो । हामीले जित निकाल्न सकेको भए फ्यानलाई समर्पित गर्दा अझ राम्रो हुने थियो । किनभने उनीहरू सबै खेलका लागि एकदमै महत्त्वपूर्ण छन् ।’

‘संसार सकिएको होइन’

२०१० मा स्पेनले विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका सेस फ्याब्रिगास आफ्नो देशले समूह चरण सहजै पार गर्नेमा विश्वस्त छन् ।

‘प्रतियोगिता सुरुआत कस्तो रह्यो भन्दा पनि अन्त्य कसरी भयो भन्ने टोलीका लागि महत्त्वपूर्ण हुन्छ,’ फ्याब्रिगासले भने, ‘स्पेनसँग समूह चरण पार गर्नका लागि आवश्यक सबै क्षमता छ ।’

‘पहिलो हाफ हेर्ने हो भने उनीहरूले उत्कृष्ट मौका सिर्जना गरेका थिए । तर, मौकाको फाइदा उठाउन सकेनन्,’ फ्याब्रिगासले भने, ‘स्पेनले हारेको होइन । अनि यो संसार सकिएको होइन । उनीहरूले सुधार गर्नेछन् म विश्वस्त छु ।’

BBC बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर