विज्ञप्तिको वास्तविकता : भीम आचार्यको ड्राफ्ट, झलनाथको ‘फाईनल टच’ – Nepal Press

विज्ञप्तिको वास्तविकता : भीम आचार्यको ड्राफ्ट, झलनाथको ‘फाईनल टच’

काठमाडौं । नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यलाई लिएर माधव नेपाल-झलनाथ खनाल समूहका नेताहरुले हस्ताक्षर दुरुपयोग भएको भनेपछि तरंग उत्पन्न भएको छ ।

खनालले बुधबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरेका थिए ।

खनालको सो वक्तव्य उनी स्वयंको विचारविरुद्ध आएको भन्दै जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेताले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको बताएका छन् । तर खनाल नर्भिक अस्पतालबाट त्रिभुवन विमानस्थलतर्फ जानुअघिसम्म उनीसँगै रहेका एमाले नेता तथा निकट सहयोगी होम बुढाथोकीले भने पार्टी एकताबारे खनालले जारी गरेको विज्ञप्ति ‘एक लाख प्रतिशत आधिकारीक’ भएको दावी गरेका छन् ।

एमाले केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका बुढाथोकी परिवारका सदस्यसँगै अस्पतालमा थिए । खनालको हस्ताक्षरमा उनकै आधिकारिक फेसबुक पेजबाट जारी भएको विज्ञप्तिबारे कुनै आशंका नरहेको भन्दै बुढाथोकीले विज्ञप्तिमा हस्ताक्षर गर्दा पनि आफू सँगै रहेको बताए ।

विज्ञप्तिको पृष्ठभूमि

खनालको आधिकारिक पेजबाट एकताको पक्षमा विज्ञप्ति आउनुअघि नै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा र महासचिव ईश्वर पोखरेललाई अस्पतालमै पुगेका बेला पार्टी मिलाउन आग्रह गरेको समाचार आइसकेका थिए ।

खनालको सचिवालय स्रोतका अनुसार उनले आफू उपचारका लागि दिल्ली जानुअघि एकताको पक्षमा अपिल गर्ने इच्छा देखाए । विज्ञप्ति मस्यौदा गर्ने जिम्मा उनले नेता भीम आचार्यलाई दिएका थिए ।

आचार्यले मस्यौदा गरेका विज्ञप्तिमा केही शव्द उनले थपघट गरेपछि स्वकीय सचिव कृष्ण भट्टराईले छाप लगाएका थिए । खनालको हात कामेर हस्ताक्षर गर्न गाह्रो भएपछि आधिकारिक हस्ताक्षरको छपा लगाइएको थियो ।

भीम आचार्य पछिल्लो समय पार्टी एकताको पक्षमा सक्रिय छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटपछि उनले दोस्रो तहका नेताहरुसँग वार्तामा सहभागिता जनाइरहेका छन् ।

प्रदेश १ को सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित गर्ने सन्दर्भमा पनि आचार्यले मुख्यमन्त्री शेरधन राईसँग वार्तापछि सरकारलाई सघाएको भन्दै नेपाल पक्षका केही नेताले आशंकाको नजरले हेरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “विज्ञप्तिको वास्तविकता : भीम आचार्यको ड्राफ्ट, झलनाथको ‘फाईनल टच’

  1. जाल्झेल र तिक्डम् गर्न बानी परेकाहरुलाई जसले जे गरे नि जाल्झेल देख्छन र रोइलो गर्छ, यो यौटा उदाहरण !!!
    कलुशित मन, तुच्छ बिचार !!

  2. फुटमा रमाउनेलाई एकताकाे कुरा सुन्दा पनि भूतलेझैं तर्साउने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर