झलनाथको विज्ञप्तिमा नेपाल समूहका दुई नेताको आशंका – Nepal Press

झलनाथको विज्ञप्तिमा नेपाल समूहका दुई नेताको आशंका

काठमाडौं । स्वास्थ्य उपचारका लागि भारत जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जारी गरेको विज्ञप्तिले माधव नेपाल समूहलाई तरंगित बनाएको छ । विज्ञप्तिमार्फत नेता खनालले सबैले रीस, राग, अहंकार र बदलाको भाव त्यागेर एमाले एकताका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।

नेपाल-खनाल पक्षका २ जना केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमार्फत सो विज्ञप्तिको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् ।

एमाले नेता डा. विजय पौडेलले ट्वीटमार्फत खनालको नाममा अरुले नै वक्तव्य जारी गराएको आरोप लगाएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन्, यस्तो फटाइ नगरेको वेश’, पौडेलको ट्वीट छ ।

त्यस्तै अर्का एमाले नेता जगन्नाथ खतिवडाले फेसबुकमार्फत नेता खनालको नाममा हस्ताक्षर दुरुपयोग गरि वक्तव्य जारी भएको आरोप लगाएका छन् । विज्ञप्तिमा उल्लेख भएको विचार खनालको विचारसँग मेल नखाने भन्दै खतिवडाले खनालको वक्तव्यका नाममा चालबाजी भएको बताएका छन् ।

‘श्वासप्रश्वासमा समेत गार्‍हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । वक्तव्यमा उल्लेखित विचार क. झलनाथ खनालको विचारसँग मेल खादैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ’ खतिवडाले भनेका छन् । नेता खनालको बिरामी अवस्थालाई राजनीतिक स्वार्थको घैटौ भर्न प्रयोग नगर्न समेत खतिवडाले आग्रह गरेका छन् ।

खनालको नाममा जारी भएको वक्तव्य भने उनकै नाममा आधिकारी फेसबुक अकाउण्टबाट आज सार्वजनिक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर