अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा – Nepal Press

अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ । उनले एक असईलाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी छन् । र, ती असईको साँच्चिकै सरुवा भएको छ ।

घटना झण्डै एक महिनाअघिको हो । थर्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल गर्ल’ का रूपमा चिनिएकी उनी अहिले विभिन्न स्थानमा राहत वितरणमा व्यस्त छिन् । राहत बाँड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग लफडा भएको थियो ।

त्यसबेला ड्युटीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका छन् ।

ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो । उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।

तर, घटना भएलगत्तै काजसरुवा भएको जानकारी महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई आयो । जानकारी पाएपछि इन्सपेक्टर श्रेष्ठले रोक्न पनि खोजेका थिए ।

‘तर माथिबाट दबाब आएको हो कि के हो, इन्स्पेक्टर सा’बको पनि केही लागेन,’ स्रोतले भन्यो ।

के थियो विवाद ?

महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका इन्स्पेक्टर श्रेष्ठका अनुसार महाराजगञ्जमा प्रहरीले चेकिङका लागि उनी चढेको मोटरसाइकल रोकेपछि विवाद भएको हो ।

उनले घटना विवरण यसरी सुनाए :-

‘उहाँहरू राहत बाँड्नका लागि नुवाकोट हिँड्नुभएको थियो बाइकमा । उहाँहरूसँग सवारी पास थिएन । अरु कुनै परिचयपत्र पनि थिएन । लाइसेन्स समेत रहेनछ । केही कागजात नभेटेपछि ड्युटीमा खटिएका साथीहरूले बाइक होल्ड गर्नुभयो ।

बाटोमा रोकिएपछि उहाँहरू आवेशमा आउनुभयो । अहम्ताले पनि होला अलिकित बढी नै बोल्नुभयो । हामीले राहत बाँड्न पनि नपाउने ? भन्दै ड्युटीमा रहेका साथीहरुलाई दुर्व्यवहार पनि गर्नुभएछ । म पनि पछि त्यहाँ पुगेको थिएँ ।

उहाँहरूले ड्युटीमा भएका साथीहरूले आफूमाथि हातपात गर्नुभएको मलाई बताउनुभयो । तर, मैले राम्रोसँग अनुसन्धान गर्दा हातपात गरेको पाइनँ । उल्टै हाम्रो ड्युटीमा भएका साथीहरुमाथि नै दुर्व्यवहार गर्नुभएको छ ।

घटना हुँदा उहाँहरूले भिडियो पनि खिचिरहनुभएको रहेछ । तपाईंले त्यो सामाजिक सञ्जालमा रहेको भिडियो पनि देख्नुभयो होला । त्यसमा सबै कुरा स्पष्ट छ । हातपात भएको भए भिडियोमा देखिनुपर्ने हो । त्यो हामीलाई देखाए जुनसुकै कारवाही भोग्न पनि तयार छौ ।’

उनीहरूले बर्दीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भए किन कारवाही गर्नुभएन त ? भन्ने प्रश्नमा इन्स्पेक्टर श्रेष्ठ यसो भन्छन्ः-

‘जे हुनु भइहाल्यो । हामीले यसलाई त्यति ठूलो रूपमा लिएनौं । घटना भएको पनि करिव एक महिना पुग्न थालिसकेको छ । हामीले त त्यो घटना बिर्सिसकेका थियौं । यहाँहरूजस्तै पत्रकार साथीहरूले अहिले बुझ्न खोज्नुनुभएपछि सम्झिने हो । नभए हामी नियमित काममा खटिएका छौ । सानातिना घटना हुन्छन्, त्यसलाई हामी त्यति ठूलो रूपमा लिदैँनौ । यसलाई त्यति ठूलो विषय बनाइरहनुपर्दैन भन्ने मलाई लाग्छ ।’

आक्रमक अभियन्ता, विनयी इन्सपेक्टर

प्रहरी चौकीभित्रै खिचिएको भिडियोमा ज्वालाको समूह र प्रहरीहरुबीच विवाद भएको देखिन्छ । इन्स्पेक्टर श्रेष्ठले भने विनम्र बन्दै सम्झाउने कोसिस गरेका छन् ।

‘ज्वाला संग्रौला को हो थाहा छ कि छैन ? नाम सुनेको छ ? सञ्जाल हेर्ने गरेको छ ? तपाईंको आईजीपीले सम्मान गर्ने मान्छे हो,’ एक युवक भन्छन् ।

अर्का व्यक्ति (सम्भवत: चालक) को स्वर सुनिन्छ, ‘मलाई कारवाही गर्नुस्, मैले -कागज) बोकेको थिइनँ । तर त्यसलाई पनि कारवाही गर्नुस् जसले मुख छोडेको छ । ड्यूटीमा बसेर त्यसरी मुख छाड्न पाइँदैन । मासाले भन्न पाइन्छ ?’

अर्को पुरुष स्वरले भन्छ, ‘यो ट्राफिकमा बसेर देशका लागि पाँच वटा राम्रो काम के गर्नुभयो ? किन जागिर खाएको ?’

प्रेस ज्याकेट लगाएको एक व्यक्ति पनि छन् । उनले कस्तो बेलामा भिडियो खिच्न पाइन्छ कस्तोमा पाइन्न भन्ने सिकाउने प्रयास गरेका छन् ।

असई झाले भने आफ्नो भिडियोको दुरुपयोग भयो भने साइबर क्राइमको कुरा गरेको प्रष्टीकरण दिन्छन् ।

ज्वाला भन्छिन्, ‘यस्तो मान्छे हामीलाई चाहिँदैन । उहाँलाई सरुवा एनि हाउ गराउँछौं । तपाईं यो एरियामा चाहिँदैन । अरु सब ठीक छ तपाईं चाहिँदैन । तपाईंलाई धेरै दिन बस्न दिँदैनौं ।’

विवाद साम्य पार्ने क्रममा इन्स्पेक्टरले ज्वालाको समूहसँग माफी मागेका छन् ।

‘यस घटनामा प्रहरीले गल्ति गरेको छैन । यदि गल्ती नै भएको भए म इन्चार्जको हिसाबले माफी माग्छु,’ उनले भनेका छन्, ‘मा साला भनेको जस्तो चाहिँ लाग्दैन ।’

ज्वालाले मुख छोड्ने प्रहरी अर्कै भएको बताउँछिन् ।

ज्वाला भन्छिन्, ‘मुख छोडेको हिसाबकिताब गर्नुपर्छ । मेरो पनि दाजुभाइ प्रहरीमा हुनुहुन्छ । हामीसँग लाइसेन्सको फोटोकपि छ, बिल बुक छ भन्दा म एक-एकलाई साइबर क्राइममा ठेगान लगाइदिन्छु भन्ने ?’

‘हामी भोकभोकै राहत बाड्ँन हिँडेका छौं । मलाई साइबर क्राइममा जेल हाल्दा देश बन्छ भने ५० वर्ष जेल हाल्नुस्’, उनले भनेकी छन् ।

अन्तिममा ज्वाला भन्छिन्, ‘उहाँलाई हामी यहाँ बस्नै दिँदैनौं, एनि हाउ सरुवा गर्छौैं ।’

अनि अर्का व्यक्तिले असइको नाम सोध्छन् । नाम मणिकान्त झा भनेपछि उनी भन्छन्, ‘झा जी रैछौ, उतै मधेसतिर जाउ अब । आफ्नै घरतिर सजिलो पनि हुन्छ । खेतिकिसानी गरेर खाउ ।’


प्रतिक्रिया

One thought on “अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर