महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध, तराई क्षेत्रका दर्जनौ बस्ती ढुवानमा – Nepal Press
लुम्बिनीमा बाढीको बितण्डा

महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध, तराई क्षेत्रका दर्जनौ बस्ती ढुवानमा

उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

रुपन्देही । तीन दिनदेखिको निरन्तर वर्षापछिको बाढी र पहिरोका कारण लुम्बिनी प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । पहिरोका कारण प्रदेशभित्रका महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने तराई क्षेत्रका अधिकांश जिल्लामा ढुवानमा परेका छन् ।

पाल्पामा पहिरोमा परी एक जनाको ज्यान गएको छ भने प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए । मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानी, बर्बोटका ४५ वर्षीय हिराबहादुर नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । चुजाठाटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाका अनुसार मंगलबार साँझ घर फर्कने क्रममा नेपालीलाई खोलाले बगाएको हो ।

वर्षाले रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । त्यसैगरी गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, राप्ती नदीमा पानीको सहत बढेपछि बाँके र दाङका दर्जनौँ बस्ती जोखिममा छन् ।

गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबारदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग आज पनि खुल्न सकेन । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरङ्गे नजिकै डाइभर्शन गरेको सडक भाँसिएपछि बुटवल– नारायणगढ सडक बन्द भएको हो ।

वाढीले रोड डिभाइडर बगाउँदा महेन्द्र राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । रुपन्देहीको देवदह नगरपालीका १० चरंगे जंगलनजिक निर्माणाधिन पक्की पुलको छेउमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको हो । निरन्तरको झरी र खोलामा बाढी आइरहेकोले पुनः डाइभर्सन निर्माण गरी संचालन गर्न कठिनाई भइरहेको पनि प्रहरीले जनाएको छ ।

पहिराका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको बहाव बढेको र पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान शुरु गरेको र पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।

यसैगरी लगातार परेको वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको सङ्गमस्थल दुई मुहानदेखि तीन किलोमिटर तल रहेको उक्त गाउँमा मङ्गलबार राति बाढी पसेको हो । घरहरुमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकालाई उद्धार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा खटेको छ । सो टोलीले दुईदिने सुत्केरीसहित सात जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।

राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

कुसुम क्षेत्रमा राप्ती नदीमा जलसतहले सतर्कताको विन्दु पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएकाले राप्ती नदीमा जलसतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको छ । दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो ।

राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । बिहानबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले बताए । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने गरेको उनको भनाइ छ ।

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

रुपन्देहीको तिनाउका दर्जनौं बस्ती जोखिममा

रुपन्देहीको तिनाउ र दानव नदीमा आएको बाढीले नदी किनारका दर्जनौं बस्ती उच्च जोखिममा परेका छन् । बाढीले नदी किनारमा तीब्र रुपले कटान गर्न थालेपछि कयौं घर परिवार बिस्थापित भएका छन भने दर्जनौ घरमा क्षति पुगेको छ ।

तिनाउ र दानव नदीमा आएको बाढीको तीब्र बहावका कारण बुटवलका सुन्दरनगर, पबित्रनगर, देवीनगर, माझगाँउ, बुद्धनगर, बिनापाते लगाएतका बस्तीका कयौं घरमा बाढी पसेर क्षती पुराएको छ । यसैगरी सिमानगर, सिर्जनानगर, मैनाबगरलगायत क्षेत्रमा पनि बाढीका कारण क्षति पुगेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बाढीका कारण तिनाउ नदी किनारको एक घर पूर्णरुपले बगाएको र दर्जनौं घरमा बाढी पसेर क्षति पुगेको बताएका छन् । बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले तिनाउमा आएको बाढीले देवीनगर र रानीगन्जमा दर्जनौं घरमा पसेर क्षति पुराएको बताए । खनालका अनुसार तिनाउ किनारको एउटा घर बगाएको छ ।

पहाडी जिल्ला जोड्ने सबै सडक बन्द

पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरु अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि अवरुद्ध भएका छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाउँठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी, रिडी तम्घास र रिडी वामीटक्सार खण्डपनि बन्द रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । कपिलवस्तुको गोरुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको डीएसपी पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *