‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’ – Nepal Press

‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले मंगलबार फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । भिडियोमा उनले आफू कोठा खोज्ने क्रममा दलित भएकै कारण घरबेटीले अस्वीकार गरेको अनुभव सेयर गरेकी छिन् ।

‘काठमाडौंको बबरमहलस्थित प्रधान थरका घरबेटीको घरमा कोठा खाली थियो । उहाँले सुरुमा हुन्छ, मिलेर बस्नुपर्छ भनेर भन्नुभएको थियो । अन्तिममा जातको कुरा आएपछि उहाँले म दलित भएकै कारण कोठा दिन अस्वीकार गर्नुभयो,’ सुनारले नेपाल प्रससँग भनिन् ।

रुपालाई कोठा चाहिएको थियो । उनलाई साथीले भनिन्, ‘बबरमहलमा एउटा घरमा कोठा खाली छ । घरबेटी कोही बस्ने छ भने लिएर आऊ भनेका छन् । जाऔं ।’

उनी साथीहरूसँग कोठा खाली भएको घरमा बुझ्न गइन् । उनलाई कोठा मनपर्‍यो । महिला घरबेटीले भनिन्, ‘राम्रोसँग बस्नुपर्छ, अबेला आउने, हल्लाखल्ला गर्ने मान्छे धेरै ल्याउने कामचाहिँ गर्न पाइन्न ।’

‘मैले हामी पढ्ने र काम गर्ने मान्छे त्यस्तो हल्लाखल्ला हुँदैन । राम्रैसँग बस्ने हो भन्यौं । उहाँले ठीक छ आफ्नै छोरीहरू जस्तो मान्छे, एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । भाडामा बस्नेलाई पनि हामीले हेप्नुहुँदैन । भाडामा बस्नेले पनि अरुको घरजस्तो गरी बस्नुहुँदैन भन्नुभयो,’ उनले सुनाइन्, ‘मलाई कोठा मन पर्यो, ममीलाई पनि कोठा हेर्न ल्याउँछु भनेँ ।’

रुपाका अनुसार त्यसपछि घरबेटीले उनलाई जात सोधे । उनले आफू दलित भएको बताइन् । जात सुन्नेबित्तिकै ती घरबेटी मौन बसेको उनी बताउँछिन् ।

‘मेरो साथीरू पनि के गर्ने गर्ने भएर नबोली बसे । उहाँले पछि अन्कनाएर खबर गर्छु है भन्नुभयो र नम्बर माग्नुभयो,’ रुपाले भनिन्, ‘मलाई त्यतिबेलै नराम्रो लागिसकेको थियो । तर सबै साथीहरूको अगाडि केही पनि फरक परेको छैन जस्तो गरेँ ।’

त्यहाँबाट खिन्न भएर फर्किएपछि उनको साथीलाई ती घरबेटीले कल गरे ।

‘तपाईंले यस्तो मान्छे ल्याउनुभएछ । हामी अर्को जातको मान्छे राख्दैनौं । हाम्रो देउता छ, पूजा गर्नुपर्छ, समस्या हुन्छ,’ घरबेटीले भने ।

पछि आफैंले फोन गर्दा पनि उही जवाफ पाएको रुपाले बताइन् । ‘यदि म दलित नभएको भए बस्न पाउँथे । म दोस्रो दर्जाकी भएँ, म बोल्न सक्ने हुँदाहुँदै पनि यस्तो विभेद खेप्नुपरेको छ । बोल्न नसक्नेले कति विभेद खेप्नुपर्छ होला,’ उनको दुखेसो छ ।

प्रहरीमा उजुरी गर्दै

मंगलबारको घटनविरुद्ध आफू कानुनी बाटोमा जाने उनले बताइन् । ‘हिजो दिउँसोको घटनाविरुद्ध आज प्रहरीमा उजुरी दिने तयारी गरेको छु । म डराउने, विभेद सहने र चुप लाग्नेहरूमा पर्दिनँ,’ उनले लेखेकी छन् ।

‘मुलुकी फौजदारी सहिंता २०७४’ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने स्पष्ट छ । उपदफा २ भनिएको छ,’ उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेका थप ती महिनासम्म कैद सजाय हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर