न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा, देलान् त तटस्थ राय ? – Nepal Press

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा, देलान् त तटस्थ राय ?

काठमाडौं । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ ।

नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । रिट निवेदकको कानूनी सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्तिले एमिकस क्यूरीका रूपमा ‘तटस्थ’ भूमिका निर्वाह गर्न नसक्ने भन्दै अधिकांश कानून व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

न्यायसेवामा रहेका वैद्यलाई सुवासचन्द्र नेम्वाङ कानूनमन्त्री रहेको बेला तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनाइएको थियो । पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधनमन्त्री बनेपछि पुनरावेदनको न्यायाधीशबाट राजीनामा दिएर वैद्य महान्यायाधिवक्ता बनेका थिए ।

महान्यायाधिवक्ताबाट पदमुक्त भएपनि न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिवबाट राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भए । चार वर्षे कार्यकाल सकिएपछि वकालतमै फर्किएका वैद्यलाई एमिकस क्यूरीमा नराखेको भए उपयुक्त हुने कानून व्यवसायीहरूको राय छ ।

‘विगतमा प्रचण्डजीको महान्यायाधिवक्ता भएको व्यक्ति भएकाले तटस्थ राय दिने अपेक्षा गर्न गार्‍हो हुन्छ । एमिकस क्यूरीले स्वतन्त्र राय दिने भनिएपनि पात्रका विषयमा प्रश्न उठ्नु बारका लागि राम्रो होइन’, बार एशोसियसनका पूर्वपदाधिकारीले नेपाल प्रेससँग भने ।

बार एशोसियसनले भने न्यायाधीश हुनु र एमिकस क्यूरीमा रहनु फरक विषय भएको बताएको छ । बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ एमिकस क्यूरीमा रहने कानून व्यवसायीले मुद्दाबारे स्वतन्त्र राय दिन विगतको भूमिकाले असर नपर्ने बताए । पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा विगतमा केपी शर्मा ओलीको महान्यायाधिवक्ता रहेको भन्दै आलोचना भएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलास छोडेको घोषणा गरेका थिए ।

‘न्यायाधीशले न्याय दिने भएकोले प्रभावित हुन्छ की भन्ने हो । एमिकस क्यूरीमा जो भएपनि राय दिने भएकोले तटस्थ राय दिन राघवजीलाई समस्या नहोला’, बार अध्यक्ष श्रेष्ठले नेपाल प्रेससँग भने । कानून व्यवसायीहरूले चासो राख्नु स्वभाविक भएपनि वैद्यलाई एमिकस क्यूरीबाट अलग गर्नुपर्ने अवस्था नरहेको श्रेष्ठको दावी छ ।

बार एशोसियसनले एमिकस क्यूरीमा वैद्यसहित वरिष्ठ अधिवक्ता उषा मल्ल ठकुरीलाई पनि पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालत बार एशोसियसनले भने वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र धारा ७६ को ५ अनुसारको सरकार गठन लगायतका विषयमा जारी मुद्दामा सर्वोच्च र नेपाल बारबाट २-२ जना एमिकस क्यूरी झिकाउने आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर