पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो – Nepal Press

पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो

काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपका पाँच संस्करण खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।

सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट डेब्यू गरेका रोनाल्डो आज हुने युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा हंगेरीविरुद्धको सुरुआती ११ मा समेटिएसँगै उनले कीर्तिमान बनाउने निश्चित भएको हो ।

साविक विजेता पोर्चुगलले नेपाली समयअनुसार ९:४५ बजे हंगेरीको बुडापेस्टमा घरेलु टोलीको सामना गर्दैछ । विश्व फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका रोनाल्डोले यो संस्करणमा थप एक गोल गरे सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाउने छन् ।

अहिले पनि यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ । दुवै खेलाडीले ९/९ गोल गरिसकेका छन् । युरो २०१६ मा पोर्चुगलले हंगेरीको सामना गर्दा रोनाल्डोले दुई गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर