जसपाले लुम्बिनीको नीति तथा कार्यक्रमको विपक्षमा रहेका सांसदलाई कारवाही गर्ने – Nepal Press

जसपाले लुम्बिनीको नीति तथा कार्यक्रमको विपक्षमा रहेका सांसदलाई कारवाही गर्ने

रुपन्देही । महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीले लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा रहेका दुई सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । नीति तथा कार्यक्रमको विपक्षमा उभिएका सांसदद्वय सहश्रराम यादव र पुर्मती ढेंगामगरलाई कारबाही गर्ने निर्णय भएको उद्योगमन्त्री समेत रहेकी जसपाकी प्रमुख सचेतक कल्पना पाण्डेले जानकारी दिइन् ।

प्रदेशसभामा ६ जना सदस्य रहेका जनता समाजवादी पार्टीका चार सांसद भने सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमको समर्थनमा उभिएका थिए । पार्टीको संसदीय दलको जेठ २९ गते बसेको बैठकले पार्टीका सबै सांसदलाई सरकारको नीति तथा कार्यक्रमको समर्थनमा उभिन ह्वीप जारी गरेको प्रमुख सचेतक पाण्डेले बताइन् ।

पार्टीका चार सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेशसभामा प्रतिनिधित्व गरेका जनता समाजवादी पार्टीका सांसदहरु दुई कित्तामा विभाजित भएका छन् ।

यसअघि प्रदेश सरकारमा सहभागी भएका सन्तोष पाण्डेय, कल्पना पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पद थामिएको छ ।

यसअघि जनता समाजवादी पार्टीको तर्फबाट प्रदेशसभामा दलको नेता बनेका सहश्रराम यादव रहेकोमा गत वैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोष पाण्डेयलाई दलको नेता बनाइएको पाण्डेले जानकारी दिइन् ।

पछिल्लोपटक दलको नेता चयन भएका पाण्डेले प्रदेशसभामा रहेका दुईतिहाई बढी सदस्यको निर्णयबाट आफू दलको नेता चयन भएको बताएका छन् । प्रदेशसभामा जसपाको आधिकारिकताको विषयमा विवाद कायम छ । उपेन्द्र यादव पक्षधर दुई जना सांसद विपक्षीको टेबलमा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर