एक भोटले ढलेका नेतान्याहुः १२ वर्षदेखिको सत्तायात्रामा पूर्णविराम – Nepal Press

एक भोटले ढलेका नेतान्याहुः १२ वर्षदेखिको सत्तायात्रामा पूर्णविराम

को हुन् नयाँ प्रधानमन्त्री बेनेट ?

सन् १९९६ मा सबैभन्दा कान्छो उमेरका इजरायली प्रधानमन्त्री भएका थिए, बेन्ज्यामिन नेतान्याहु । पहिलो तीन वर्षे कार्यकालपछि फेरि प्रधानमन्त्री भएका नेतान्याहु १२ वर्षपछि आइतबार सत्ताबाट बाहिरिए । उनले दोस्रो कार्यकालमा सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री चलाएको रेकर्ड बनाए ।

विपक्षी गठबन्धनको भन्दा एक सिट कम मत पाएर बाहिरिएका नेतान्याहुले इजरायलमा कुल १५ वर्ष सत्ताको नेतृत्व गरे ।

सन् २००९ देखि निरन्तर दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएका नेतान्याहु आइतबार १२० सिटको केनेसेटमा विपक्षीले ६० मत ल्याएपछि अल्पमतमा पर्दै बाहिरिएका हुन् । उनको पक्षमा ५९ मत मात्रै आयो । एक मत खसेन ।

व्यापारीबाट अस्वभाविक उपहार लिएको तथा पत्रिकामा सकारात्मक समाचार लेखाउन आर्थिक सौदाबाजी गरेको भन्दै भ्रष्टाचारको आरोपमा कानुनी झेलिरहेका ७१ वर्षीय नेतान्याहुलाई सत्ताबाट हटाउन इजरायलमा अभुतपूर्व गठबन्धन बन्यो ।

वामपन्थी, धर्मिकदेखि अरबिकहुँदै दक्षिणपन्थी सबै पार्टीहरु मिलेर उनलाई हटाएका हुन् । अहिले सात सिट भएका नाफ्ताली बेनित प्रधानमन्त्री भएका छन् भने ३० सिटको पार्टीका संसदीय दलका नेता नेतान्याहु विपक्षी बेन्चमा पुगेका छन् ।

लिकुड पार्टीले प्रधानमन्त्री मात्रै गुमाएन, सभामुख पद पनि गुमायो । आठ दलीय गठबन्धनबाट लिकुड पार्टीका यारिभ लेभिनलाई पाखा लगाउँदै यस अतिड पार्टीका मिकी लेभिलाई सभामुख चुनिएको थियो ।

नयाँ प्रधानमन्त्रीलाई बधाई दिएनन् नेतान्याहुले

आइतबार केनेसेटमा प्रधानमन्त्रीको रुपमा बोल्न आएका नाफ्ताली बेनेटले आफ्नो भाषणको सुरुवातमै नेतान्हायुको तारिफ गरे । ४९ वर्षे बेनेतलाई उदृत गर्दै इजरायली अखबार जेरुसेलम पोस्ट लेख्छ, ‘इजरायलको लागि उपलब्धीहरुले भरिपूर्ण धेरै वर्षको सेवाको लागि निवर्तमान प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुलाई धेरै धन्यवाद । प्रधानमन्त्रीको रुपमा तपाईंले इजरायलको राजनीतिक, सुरक्षा र आर्थिक शक्तिलाई बलियो बनाउन खट्नुभयो ।’

नेतान्याहुप्रति सकारात्मक भएका बेनेटसँग नेतान्याहु भने आक्रोशित भए । जेरुसेलम पोस्ट नेतान्याहुले केनेसेटमा बोलेको भनाइ उदृत गर्दै लेख्छ, ‘बेनेट सधै एउटा भन्छन्, अर्को गर्छन् । यो सरकार एक दिन पनि देशको नेतृत्व गर्न लायक छैन ।’

इजरायली प्रधानमन्त्रीको रुपमा ओबामाकालीन इरान आणविक सम्झौताताका अमेरिकी सदनमा गएर आफूले विपक्षमा बोलेको प्रसङ्ग ल्याए नेतान्याहुले । उनले बेनेटलाई कम आँक्दै भने, ‘एउटा इजरायली प्रधानमन्त्रीले अमेरिकी रास्ट्रपतिलाई हुन्न भन्न सक्नुपर्छ ।’

सत्ताबाट बाहिरिँदै नेतान्याहुले आफ्ना उपलब्धीको व्याख्या गरे । जेरुसेलम पोस्टका अनुसार उनले मूलतः तीन तर्क गरे । एक, सीमान्त देशको रुपमा रहेको इजरायलाई नेतृत्वदायी देश बनाए । दुई, इजरायलको राजधानी जेरुसेलममा अमेरिकी दूतावास सार्नदेखि अरबिक देशसँग सम्झौता गर्न सफल । तीन, देशका सडक, रेलदेखि जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गरे ।

नेतान्याहुले दाबी गरेका सफलतालाई अन्तर्राष्ट्रिय मिडियाले पनि सही थपेका छन् । बिबिसीले प्यालेस्टाइन युद्धबाट मात्रै पहिचान बनाएको इजरायललाई नयाँ आकार नेतान्याहुले दिएको लेखेको छ ।

चाँडै यो सरकार ढाल्ने बताएका नेतान्याहु केनेसेटमा मन्तव्य सकेर केही समय प्रतिपक्षी बेन्चमा बसे । त्यसपछि बाहिरिँदै पत्रकारसँग उनले सत्ता छोडेपनि प्रमख प्रतिपक्षी नेतादेखि आगामी चुनावमा पार्टीको प्रधानमन्त्रीको उम्मेदवार आफैं हुने बताए ।

उनलाई उदृत गर्दै जेरुसेलम पोस्ट लेख्छ, ‘प्रेसका लागि यो होलिडे हो तर इजरायलका लाखौँ नागरिकहरुको लागि गाह्रो दिन हो । म तपाईंहरुलाई आफ्नो आत्मबल नगिराउन आग्रह गर्छु । हामी चाँडै (सत्तामा) फर्किनेछौँ ।’

सदनमा बेनेटले सम्बोधन गर्दा विपक्षीले हल्ला गरेका थिए । केही सांसदलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए । तर, नेतान्याहु बोल्दा भने सत्ताधारीले शान्तीपूर्वक सम्बोधन सुनेका थिए ।

नेतान्याहुविरुद्ध विचार नमिल्ने आठ दलको गठबन्धन

इजरायलको नयाँ आठ दलीय गठबन्धन सरकारमा भएका कुनैपनि दलको आपसमा विचार मिल्दैन । तर, नेतान्याहुविरोधी भावना भने मिल्छ । त्यही ‘एन्टी नेतान्याहु’ सेन्टिमेन्टले उनीहरुलाई एक ठाँउमा ल्याएको छ । कतिसम्म रोचक छ भने, इजरायली सरकारको गठबन्धनमा सहभागी हुँदै नभएका अरब पार्टी समेत सरकारमा जोडिएको छ ।

मन्सुर अब्बास नेतृत्वको चार सिट भएको ‘राम’ पार्टी पनि सरकारी गठबन्धनमा छ । गठबन्धनको सबैभन्दा सानो पार्टी राम नै हो । सबैभन्दा ठूलो भने १७ सिट भएको यस अतिड पार्टी छ । जसको भागमा सभामुख परेको छ । प्रधानमन्त्री नाफ्ताली बेनितको ‘यामिना’ पार्टीको सात सिट मात्रै छ ।

गत चैत्र १० मा इजरायलमा भएको पछिल्लो चुनावमा बेनितको पार्टी पाँचौ ठूलो भएको थियो । इजरायलमा पछिल्ला दुइ वर्षमा चार चुनाव भए । तर, बहुमत नजुट्दा कुनैपनि सरकार टिक्न सकेनन । र, अहिलेको आठ दलीय गठबन्धन बनेको हो ।

गठबन्धनका नेताहरुलाई नेतान्याहुले प्रधानमन्त्री अफर गरिरहेको तर अहिलेसम्म नमानेको जेरुसेलम पोस्टले लेखेको छ । अहिले बनेको सरकार इजरायलको ३६ औं सरकार हो ।

विचार नमिल्ने दलहरुको गठबन्धन भएकोले इजरायलको आन्तरिक मामिलामा मिलेर काम गर्ने बताइएको छ । आइतबार केनेसेटमा बोल्दै प्रधानमन्त्री बेनेटले नागरिकमैत्री कर्मचारीतन्त्र बनाउने बताए । सिंगापुरको जस्तै कागजविहीन र भिडविहीन काम गर्ने बताए ।

स्न २०२६ सम्म इजरायलमा उच्च प्राविधिक क्षेत्रका कामदारको संख्या कुल कामदारको १५ प्रतिशत बनाउने उनले बताए । साना व्यावसायी र स्वतन्त्र कामदारलाई सहयोग गर्ने, इजरायको उत्तरी क्षेत्रमा स्तरीय अस्पताल बनाउनेदेखि यातायात क्षेत्रमा सुधार गर्ने उनले बताए । नयाँ सरकार राष्ट्रिय एकताको भएको उनको भनाइ छ ।

को हुन् नयाँ प्रधानमन्त्री बेनित ?

बेनेट कट्टर यहुदी हुन् । उनको पार्टी ‘यामिना’ र उनले प्यालेस्टाइनको अस्तित्व स्वीकार नगर्ने अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । उनी आफू नेतान्याहुभन्दा दक्षिणपन्थी भएको स्वीकार्छन् ।

केही समयअघि उनले दि टाइम्स अफ इजरायलसँग भनेका थिए, ‘म नेतान्याहु भन्दा दक्षिणपन्थी हुँ । तर, घृणा र विभाजनलाई मेरो राजनीतिक बढुवाको साधनको रुपमा प्रयोग गर्दिनँ ।’

दक्षिणपन्थी गठबन्धनबाट तेतान्याहुलाई छाडेर आउनुअघि उनी नेतान्याहु क्याबिनेटका विभिन्न जिम्मेवारीहरुमा पनि थिए । उनी शिक्षामन्त्रीदेखि रक्षामन्त्रीसम्म भएका थिए ।

लिकुड पार्टी प्रमुख प्रतिपक्षी भएको समयमा उनी नेतान्याहुको ‘चिफ अफ स्टास’को रुपमा थिए । त्यहींबाट उनको राजनीतिक जीवन सुरु भएको हो । युएसए टुडेका अनुसार सन् २००९ मा नेतान्याहु प्रधानमन्त्री चुनिँदा बेनित वेस्ट बैंकको यहुदी बस्ती हेर्ने येसा काउन्सिलको महानिर्देशक बनाइए । जसमा उनले दुई वर्ष काम गरे ।

सन् २०१३ को आमनिर्वाचानमा उनले आफ्नै दल खोले । पहिलो प्रयासमै १२ सिट आयो । सन् २०१३ देखि २०१९ सम्म नेतान्याहुको गठबन्धनमा रहेर अर्थ, धर्म, डायस्पोरा, शिक्षाहुँदै रक्षामन्त्रीसम्म भए । सन् १९९६ मा हेजबुल्लासँग भएको युद्धमा सहभागी भएका बेनित सैन्य सेवाबाट आएका थिए । उनी इजरायली सेनाका कमाण्डो भएको बिबिसीले लेखेको छ ।

राजनीतिमा आउनुअघि उनी प्रविधिका अर्बपति थिए । सन् २००० ताका श्रीमती सहित अमेरिका पुगेका उनले आरएसए सेक्युरिटि नामक कम्पनी खोले । जसलाई उनले साढे चौध करोड डलरमा बेचे ।

सन् १९६७ मा भएको छ दिने इजरायल अरब युद्धपछि सनफ्रान्सिस्कोबाट आएका यहुदी आप्रवासीका सन्तानको रुपमा सन् १९७२ मार्च २५ मा बेनेटको जन्म इजरायलको हाइफामा भएको थियो । उनी पढ्नका लागि अमेरिका पुगेका थिए ।

उनले गठबन्धन सम्झौताअनुसार दुई बर्षपछि यस अटिड पार्टीका नेता तथा पूर्व टेलिभिजन पत्रकार यैर लेपिडलाई पद हस्तान्तरण गर्नुपर्नेछ । यद्यपि, कसैले पार्टी छाडेर नेतान्याहुलाई साथ दिएमा वा गठबन्धनको कुनै दल बाहिरिएमा भने अहिलेको राजनीतिक नक्सा परिर्वतन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर