आपसी सद्भाव बढाउन भुम्या पर्व महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल – Nepal Press

आपसी सद्भाव बढाउन भुम्या पर्व महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भुम्या प्रदेश विशेष सांस्कृतिक पर्व भएको बताएका छन् । रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूम्या पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका मुख्यमन्त्री पोखरेलले बताएका छन् । पोखरेलले भूम्या पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा सघाउ पुगेको बताउँदै खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको उल्लेख गरेका छन् ।

भूम्या पर्वले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको पनि बताएका छन् । ‘प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुख-बिरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव छ ।’ उनले शुभकामना सन्देशमा भनेका छन्,  ‘प्रकृतिप्रति माया र संरक्षण गर्दा भावी पुस्ताका लागि अमुल्य उपहार हुन्छन् ।’

पोखरेलले प्रदेश सरकारले भूम्या पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको जनाउँदै लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको दाबी गरेका छन् ।

भूम्या पर्वको अवसरमा प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजानिक बिदा दिएको छ । हरेक वर्ष असार १ गते खाम मगरभाषी समुदायले भूम्या पर्वकारुपमा मनाउंदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर