जसपा उपेन्द्र पक्षको तयारी – निर्वाचन आयोगसँग कुरा गर्ने, नभए अदालत जाने – Nepal Press

जसपा उपेन्द्र पक्षको तयारी – निर्वाचन आयोगसँग कुरा गर्ने, नभए अदालत जाने

काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्ट देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले न्यायिक निकास खोज्ने भएको छ ।

यादव पक्षका शीर्ष नेताहरुबीच पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको छ ।

निर्वाचन आयोगले जसपामा २ जना अध्यक्ष रहने व्यवस्था रहेको भन्दै एकजना अध्यक्षको मात्रै हस्ताक्षरमा भएको पदाधिकारी हेरफेर वा निष्कासन सम्बन्धी निर्णय स्वीकृत नहुने ठहर गरेको थियो । जसपाले भने पार्टीको बहुमत पक्षले गर्ने निर्णय कार्यान्वयनमा बाधा हुन नहुने भन्दै निर्वाचन आयोगसँग छलफल गर्ने तयारी थालेको छ ।

‘निर्वाचन आयोगसँग छलफल गरेर थप प्रष्ट पार्ने प्रयास पहिलो चरणमा हुनेछ । त्यसबाट पनि निकास भएन भने न्यायिक निकासको खोजी त गर्नैपर्छ’, जसपा नेता गंगानारायण श्रेष्ठले भने । निर्वाचन आयोगले पदाधिकारी हेरफेर भन्दा कुन जसपा वैध हो ? भन्नेबारे निर्णय दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

‘जसपा नेपाल नाम गरेको पार्टीमा दुईतिरबाट काम भइरहेको छ । समानान्तर गतिविधि भइरहँदा आयोगले कुन पक्ष वैध हो भन्दिनुपर्छ । हामीले आयोगसँग वैधता चाहेका छौं’, श्रेष्ठले भने । पार्टीभित्र विभिन्न विकल्पमा छलफल भइरहेको भन्दै नेता श्रेष्ठले आयोगसँग छलफल र अदालत जाने दुवै विषयबारे छिट्टै निर्णय हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर