आन्तरिक उडान खोल्न वायुसेवा कम्पनीको ताकेता, सीसीएमसीको निर्णय कुर्दै मन्त्रालय – Nepal Press

आन्तरिक उडान खोल्न वायुसेवा कम्पनीको ताकेता, सीसीएमसीको निर्णय कुर्दै मन्त्रालय

काठमाडौं । कोरोना माहामारीको दोस्रो लहरका कारण बन्द भएको आन्तरिक उडान सञ्चालन गर्न वायु सेवा कम्पनीले ताकेता गररहेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग ताकेता गरेका हुन् ।

‘अहिले दैनिक एक करोड रुपैयाँ घाटा व्यहोरिरहेका छौं’ यति एयरलाइन्सका प्रवक्ता शुदर्शन बर्तौलाले भने, ‘अब यस्तो स्थिति अझै रहे कम्पनी नै चलाउनै मुस्किल पर्छ ।’ उडान नभए पनि प्रशासनिक र कर्मचारीलगायतका लागि हुने खर्च भइरहेको उनले बताए । ‘आम्दानी शून्य छ, बैंकको ऋण तिर्नैपर्यो, अब कसरी कम्पनी टिकाउने भन्ने चिन्ताले सताउन थालेको छ’ उनले भने ।

कम्पनी बन्द गर्नुपर्ने परिस्थिति आए धेरैको रोजगारी जाने भन्दै उनले अब तत्काल उडान सुरु नभए कर्मचारी कटौतीसँगै तलब कटौती गर्नुपर्ने बताए ।

त्यस्तै बुद्ध एयरको भनाइ पनि उस्तै छ । अहिले दैनिक दुई करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताउँदै बुद्ध एयरका प्रवक्ता गणेश ढकालले भन्छन्– दसैंसम्म त जसोतसो कर्मचारीलाई तलब खुवाउन सकिएला, त्यसपछि गाह्रो छ । त्यसैले सरकारसँग हामीले जसरी भए पनि तत्काल आन्तरिक उडान सञ्चालन गर्न आग्रह गरेका छौं ।

वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ (आज)देखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्र लेखिसकेको छ । सो पत्र पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ । सीसीएमसीले सिफारिस अनुसार निर्णय हुने मन्त्रालयले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउनका लागि पहल गरिरहेको जनाएको छ । प्राधिकरणले कोरोनाको जोखिम कम भएका क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्न मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।
अघिल्लो वर्ष पनि निषेधाज्ञासँगै ६ महिनासम्म आन्तरिक उडान बन्द भएको थियो । जसमा वायुसेवा कम्पनीले अर्बौ रुपैयाँ घाटा व्यहोरेको थियो ।

आन्तरिक वायु सेवा कम्पनीले सीसीएमसीले पालना गर्न भनेको सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न तयार रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *