भारतीय सेनामा नेपाली महिलाको आह्वान आपत्तिजनक : डा. भीम रावल – Nepal Press

भारतीय सेनामा नेपाली महिलाको आह्वान आपत्तिजनक : डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाएका छन् । यो आह्वान तत्कालीन व्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौताविपरीत भएको उनले बताए ।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाको नाममा हिजो एउटा सूचना जारी भएको थियो । नेपाली भाषामा जारी गरिएको सूचनामा महिलाहरूका लागि भारतीय सेनामा भर्ती आह्वान गरिएको छ । सूचनामा ‘गोर्खा उम्मेदवारलाई ४ सेमीसम्मको छुट दिइने’ उल्लेख भएकाले नेपाली महिलाले समेत प्रतिस्पर्धामा भाग लिन सक्ने भएका हुन् । जबकि अहिलेसम्म नेपालबाट भारतीय सेनामा महिलालाई भर्ती गर्ने गरिएको थिएन ।

डा. रावलले नेपाल प्रेससँग भने, ‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ? केपी ओली कहाँ हुनुहुन्छ ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो ? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्न मिल्छ ?’

महिलालाई पनि भारतीय सेनामा लैजाँदा नेपाललाई के असर गर्छ ? भन्ने प्रश्नमा रावलले जवाफ दिए, ‘के असर पर्छ भन्दा पनि सम्झौतामा के लेखिएको छ, त्यो अनुसार चल्नुपर्‍यो नि । कुनै पनि सार्वभौम देशको कुरा त्यहाँ आउँछ । सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान छैन ।’

गोरखा भर्ती नै नेपालको सार्वभौमिकताविरुद्ध भएकाले त्यसलाई खारेज नै गर्नुपर्ने रावलले बताए । सन्धी खारेज गर्न पहल गर्नुको साटो महिलाका लागि सूचना आह्वान गर्दासमेत सरकार मौन बस्नु खेदजनक रहेको उनको भनाइ छ ।

हेर्नुहोस् भारतीय दूतावासको सूचना:-


प्रतिक्रिया

One thought on “भारतीय सेनामा नेपाली महिलाको आह्वान आपत्तिजनक : डा. भीम रावल

  1. मानव बेचबिखनकाे समस्या यद्दपी नेपालबाट न्यून हुन नसकेकाे अवस्था छ । नेपालमा बेराेजगारकाे समस्याले गर्दा विभिन्न तरहले बिदेशिनु परेकाे अबस्था छ । जाे जति पटक सत्तामा पुगे पनि समस्याहरू ज्यूका त्यू छन् । भारतिय काेठीहरूमा नेपाली केहि महिलाहरू विभिन्न् तरहले पुगेकाे र कतिपयलाइ संघ संस्थाहरूले उद्दार गरेकाे कुराकाे इतिहासकाे मसी सुकेकाे छैन । केही विकसित राष्ट्रहरूमा समेत महिला सैनिकमाथि याैन हिंसाका घटनाहरू घट्ने गरेकाे यदाकदा सुन्न र पढ्न पाइन्छ । राेजगारीकाे बाध्यताले गर्दा निम्न दर्जाका महिला कर्मचारीहरूले याैन हिंसाकाे घटनाकाे रिपाेर्ट नगर्ने र रिपाेर्ट गरे तापनि अनुसन्धान र कारवाही नहुन पनि सक्दछ । नेपाल प्रहरीमा भएकाे प्रहरी जवान सुन्तली धामीमाथि सहकर्मी प्रहरी कर्मचारीहरूले व्यारेकभित्रै गरेका सामूहिक बलात्कारकाे घटना नै ज्वलन्त उदाहरण हाे ।तसर्थ नेपाल सरकारकाे यस्ताे कदमलाइ सकारात्मक रूपमा लिन सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर