काठमाडौंमा आजदेखि मेलम्चीको पानी नआउने – Nepal Press

काठमाडौंमा आजदेखि मेलम्चीको पानी नआउने

काठमाडौं । आजदेखि मेलम्चीको पानी वितरण झण्डै २ महिना राेकिने  भएको छ । सुरुङको परीक्षण गर्नुपर्ने भएकाले आज (असार १ ) गते देखि मेलम्चीको पानी पठाउन बन्द गरिएकाे हो ।

कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले झण्डै २ महिना बन्द हुने उनको भनाइ छ ।

पन्तले भने, ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनले बताए ।

गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी भइरहेको थियो ।

त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्नेपर्ने छ । उनले भने,‘आजदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।

निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि पानी भरिनेछ । एक महिनाभित्रमा पुनः पानी वितरण सुचारु हुनेछ । मेलम्ची खानेपानीको मुहानमा हाल हेडवक्र्स निर्माण अन्तिम चरणमा पुगेको छ ।

झण्डै दुई महिना मेलम्चीको पानी नआउने भएपछि काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले २ देखि १२ दिनसम्म विराएर उपत्यकाको विभिन्न खानेपानीको स्रोतबाट उपत्यकामा खानेपानी वितरण गर्न लागेको हो ।

केयुकेएलले उपत्यकामा खानेपानी वितरण गर्ने ताालिकामा समेत फेरबदल गरेको छ । उपत्यकामा २४ करोड खानेपानीको माग भएतापनि ९ लाख मात्रै खानेपानी आपूर्ति भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर