रोकिएको जनगणना साउन २६ देखि गर्ने प्रस्ताव, स्वास्थ्य मन्त्रालयको ‘ग्रिन सिग्नल’ – Nepal Press

रोकिएको जनगणना साउन २६ देखि गर्ने प्रस्ताव, स्वास्थ्य मन्त्रालयको ‘ग्रिन सिग्नल’

काठमाडौं । कोभिडको कारण स्थगित भएको राष्ट्रिय जनगणना साउन २६ देखि असोज ८ गतेभित्रमा सम्पन्न गर्न गृहकार्य सुरु गरिएको छ । महामारीमा सिथिलता आएसँगै तथ्यांक विभागले जनगणनाका लागि नयाँ तिथि अघि सारेको हो ।

विभागका जनगणना प्रमुख ढुण्डीराज लामिछानेले साउनबाट जनगणना सुरु गर्ने गरी तयारी भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘साउन, भदौ र असोज तीन महिनामा जनगणना गर्न सकिन्छ कि भनेर हामीले योजना बनाउँदै छौं । साउन २६ देखि असोज ८ भित्रमा सबै काम सक्ने गरी तयारी थालेका छौं । तर टुंगो लागिसकेको छैन ।’

जनगणना हरेक १० वर्षमा गरिन्छ । यस वर्षको १२ औं जनगणना वैशाख २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भइरहेको थियो । तर कोभिड १९ को बढ्दो संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएकाले गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

विभागले तोकेको मितिको प्रस्तावलाई स्वास्थ्य मन्त्रालयले अनुमति दिएमा जनगणना गराउन समस्या नहुने लामिछाने बताउँछन् ।

उनले थपे, ‘अब यो मिति सरकारलाई पनि मन पर्न पर्‍याे । स्वास्थ्य मन्त्रालयले पनि साथ दिनुपर्‍याे । त्यतिबेलासम्म कोरोना संक्रमण पनि घट्छ भन्ने छ ।’

विभागले जनगणना सम्पन्न गराउन स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रारम्भिक रुपमा साउन, भदौ र असोजमा जनगणना गर्न विभागलाई अनौपचारिक रुपमा स्वीकृत दिइसकेको विभागले जनाएको छ । मन्त्रालयले विभागलाई गणनाको तयारीमा जुट्नसमेत भनिसकेको छ ।

मन्त्रालयको भनाई उदृत गर्दै जनगणना प्रमुख लामिछानेले भने, ‘साउनदेखि कोभिड घट्ने बेला भएको र त्यसपछि फेरि तेस्रो वेभ आउन सक्ने भएकाले यो ठिक समय छ, सुरु गर्नुस भन्नुभएको छ मौखिकरुपमा ।’

मन्त्रालयसँग औपचारिक छलफलका लागि चिठी पठाएर समय मागिसकिएको उनले जानकारी दिए । मन्त्रालयसँग छलफल भएपछि औपचारिक प्रस्ताव गरिने र उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी विभागले गरिरहेको छ ।

कोभिड महामारीको समयमा जनगणना आधिकारिक नआउने भएकाले महामारी सकिएपछि गणना गर्नुपर्ने प्रतिक्रिया पनि विभागलाई आइरहेको छ । तर विभागले भने गणनाको तयारीका धेरै कामहरु गरिसकेकाले अब धेरै समय पर्खिने अवस्था छैन ।

प्रमुख लामिछाने भन्छन्, ‘हामीले तयारी नगरेको भए त पछाडी सार्दा पनि हुन्थ्यो । हाम्रो संरचनाहरु सबै तयारी अवस्थामा छ । जनगणनामा आवश्यक सामग्रीहरु समेत जिल्लामा पुर्‍याइसकिएको छ । त्यसले गर्दा हामीले पछाडि सार्नुभन्दा पनि दशैंभन्दा अगाडि नै सक्ने योजना बनाएका छौं ।’

जनसंख्याशास्त्र र तथ्याङशास्त्रका विज्ञहरुले पनि छलफलको क्रममा विभागले तोकेको मिति नै उपयुक्त भएको सुझाव दिएका छन् । अब स्वास्थ्य मन्त्रालयको तथ्याङ हेरेर अन्तिम निर्णय गरिने विभागले जनाएको छ । एक साताभित्र स्वास्थ्य मन्त्रालयसँग छलफल हुने र अर्को हप्ता भित्र मन्त्रिपरिषदमा फाइल लैजाने विभागको तयारी छ ।

जनगणना शाखाका प्रमुख लामिछानेले भने, ‘मन्त्रालय र मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएअनुसार यो बेलामा गर्‍याे भने ठीक हुन्छ भनेर भनेको अवस्थामा हामी अगाडि बढाउने तरखरमा छौं ।’

महामारीअघि विभागले जनगणनाका लागि सुपरिवेक्षकहरुलाई तालिम दिइरहेको थियो । सुपरिवेक्षकहरुलाई ७ दिनको तालिम दिनुपर्ने भए पनि ५ दिन तालिम दिएपछि जनगणना नै स्थगित भएको थियो । जनगणनाका लागि गणक माग गर्दा ३९ हजार जनाले आवदेन दिएका भए पनि नतिजा भने सार्वजनिक भएको थिएन ।

आगामी वर्षको २०७८/०७९ को बजेटमा पनि जनगणना सम्पन्न गर्न एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।


प्रतिक्रिया

One thought on “रोकिएको जनगणना साउन २६ देखि गर्ने प्रस्ताव, स्वास्थ्य मन्त्रालयको ‘ग्रिन सिग्नल’

  1. बर्षा द को समय भल पैरो जनगणना सम्भब हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *