कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति – Nepal Press

कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

सरकारको आलोचना, आपसमा विश्वास बढाउने प्रयास

काठमाडौं । विपक्षी गठवन्धनका प्रमुख तीन नेताले संविधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निश्चय गरेको छ ।

बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए ।

‘यो गठबन्धन संविधान, लोकतन्त्र र जनताको सवाल सम्बोधन गर्न बनेको हो । गठबन्धनलाई अझ दह्रो बनाउने, आपसमा अविश्वास बढाउन हुनसक्ने चलखेलप्रति सचेत रहने र ओली सरकारको असंवैधानिक कदमको विरुद्ध दृढ रहने निर्णय भयो,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेससँग भने ।

महामन्त्री खड्काले सबै प्रदेशमा विपक्षी गठबन्धनको कार्यगत एकता कायम रहने भन्दै त्यसलाई भत्काउन हुनसक्ने प्रयत्नप्रति सचेत रहनेबारे छलफल भएको बताए ।

गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सरकारले विभिन्न माध्यमबाट प्रभावित गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएको छ । निर्वाचन आयोग लगायतका संवैधानिक निकायको कामबारे प्रश्न गर्दै गठबन्धनले संवैधानिक निकायले सरकारको स्वार्थअनुसार काम गरेको ठहर समेत गरेको छ ।

‘संवैधानिक अंगहरुलाई प्रभावमा पार्न सत्ताको दुरुपयोग भइरहेको छ, त्यसलाई दृढतापूर्व प्रतिवाद गर्नेछौं । स्वतन्त्र न्यायापालिकाको भूमिकामाथि विभिन्न ढंगले प्रहार गर्न खोजिएकोप्रति हाम्रो ध्यानाकर्ष भएको छ’, खड्काले भने ।
बैठकले जनतालाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार असफल भइसकेको र निषेधाज्ञाले मारमा परेको विपन्न वर्गप्रति सरकार उदासीन भएको ठहर समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

  1. कोटेश्वर खुमलटार र बुढानिलकण्ठबीचको रिले सम्वाद हिजो कोटेश्वर आईपुग्दा संघदेखि प्रदेशसम्म गठबन्धनलाई निरन्तरता दिएर बलियो बनाउने सहमतिको खबर आयो। यसले माझहरू जसरी पनि नेकपा (एमाले) बाट बाहिरिन खोजेको निष्कर्षमा निस्कन्छ तर माझहरूको जोडभने दोषजति केपी ओलीमाथि लगाउनमा केन्द्रीत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर