सुस्ताउँदै कोरोना महामारी, अस्पतालका बेड खाली हुन थाले (भिडियो) – Nepal Press

सुस्ताउँदै कोरोना महामारी, अस्पतालका बेड खाली हुन थाले (भिडियो)

काठमाडौं । कोरोना संक्रमणको ग्राफ ओरालो लागेसँगै अस्पतालहरु विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन् । महामारी उत्कर्षमा पुग्दा सबैभन्दा बढी चाप व्यहोरेका टेकुदेखि टिचिङसम्मका अस्पतालमा हामीले आज स्थलगत अनुगमन गर्दा महामारी निकै हदसम्म शान्त भइसकेको भान भयो ।

एक महिना अगाडिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आँगन र कोरिडोर पनि भरिभराउ हुन्थे । अहिले त्यो अवस्था छैन । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको संख्या न्यून देखिएको छ । हामी पुग्दा इमर्जेन्सीका केही बेडहरु खाली थिए ।

जेठको पहिलो साता यस अस्पताले १ सय ३७ जनासम्म कोभिडका बिरामी राखेर उपचार गर्‍यो । अहिले ८७ जना बिरामी उपचाररत छन् ।

‘जेठको पहिलो सातासम्म ४० जनाभन्दा बढी बिरामीलाई आँगनमा राखेर उपचार गर्न बाध्य थियौं । दोस्रो हप्तापछि विस्तारै घट्दै गयो,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भन्छन् ।

बिरामीहरू काठमाडौं बाहिरबाट विशेष उपचारका लागि अस्पतलाल आइरहेका छन् । धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाबाट आउने गम्भीर प्रकृतिका बिरामीको संख्या भने कम नभएको डा. भण्डारी बताउँछन् ।

डा. भण्डारीका अनुसार इमर्जेन्सीमा बिरामी घटे पनि आइसोलेसन र आइसीयू भने अहिले पनि लगभग प्याक छन् । आइसोलेसनमा रहेको ४० बेड सबै प्याक छन् भने २८ वटा आइसीयुमध्ये एउटा खाली छ ।

टेकुलगायत काठमाडौंका अन्य अस्पतालमा पनि कोभिडका संक्रमितहरू घटेसँगै कोभिड बेड खाली हुने क्रम बढ्दै गइरहेको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिले कोभिडका बिरामी १ सय ५७ जना छन् ।

अस्पतालमा कोभिडको ६० वटा वार्ड अहिले खाली भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दास बताउँछन् । उनका अनुसार आकस्मिक कक्ष पनि खाली हुँदै गइरहेका छन् । आइसीयु बेड भने प्याक रहेको दासले बताए ।

‘आइसीयु ५७ वटामा ५७ वटै प्याक छ,’ उनी भन्छन् ।

डा दासका अनुसार अहिले संक्रमितहरूमध्ये बाहिरबाट आउने क्रम केही बढेको छ ।

पाटन अस्पतालमा २ सय कोभिड बेडमा १ सय ३० खाली छन् । अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यका अनुसार आइसीयु भने भरिभराउ नै छन् ।

वीर अस्पतालमा पनि आइसीयुबाहेक जनरल वार्ड भने खाली हुँदै गएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमका अनुसार जम्मा १ सय ३० बेडमा मात्र संक्रमित छन् ।

‘आइसीयु पनि अभाव हुन नदिन १८ वटा आइसीयु बेड व्यवस्थापन गर्दैछौं । केही दिनमा तयार हुन्छ,’ उनले भने ।

राष्ट्रिय ट्रमा सेन्टरले विस्तारै कोभिड वार्ड हटाएर ट्रमा नै सुरु गर्दैछ ।

‘नयाँ कोभिडको लागि अब भर्ना लिँदैनौं । किनकि अन्य अस्पतालमा नै सहजै बेड पाइन्छ,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडलले भने ।

अस्पताललमा कोभिडका ४० जना बिरामी छन् । जसममध्ये आइसीयुमा १० जना, ३० जना वार्डमा छन् ।

ननकोभिडका बिरामी बढ्दै

अस्पतालहरूमा कोभिडका बिरामी घटेसँगै ननकोभिडका बिरामी बढ्दैछन् । टिचिङमा अहिले ननकोभिडका बिरामी संख्या २ सय ८० पुगेको छ । यो केहीदिन यता बढ्दै गएको हो । डा. दासका अनुसार हाल अस्पतालको कोभिडका वार्डलाई कन्भर्ट गरेर तत्काललाई ननकोभिड बनाइएको छ ।

पाटन अस्पतालमा पनि ननकोभिडका बिरामी विस्तारै बढ्दै गएका छन् ।

‘हाम्रो अस्पतालमा ननकोभिडका बिरामी लकडाउनअघि फूल हुन्थे । लकडाउनपछि घटेका थिए । फेरि अहिले विस्तारै बढ्न थालेका छन्,’ कार्यकारी निर्देशक डा शाक्यले भने ।

‘आइसियु अझै एक महिना प्याक’

अस्पतालहरूमा अझै एक महिना आइसीयु अभाव हुने डाक्टरहरूको आँकलन छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन आइसीयु केही हप्ता वा महिनासम्म अभाव हुनसक्ने बताउँछन् ।

‘हामीसँग धेरै आइसीयु नै छैन । त्यसैले यो समस्या त सधैं निरन्तर रहन्छ,’ डा पुन भन्छन् ।

संक्रमण भने अब विस्तारै घट्दै जाने उनको अनुमान छ ।

‘लकडाउनको प्रभावले पनि संक्रमण घट्दै गइरहेको छ । सायद एक महिनामा अझै देखिने गरी दर घट्छ,’ उनी भन्छन् ।

अधिकांश बिरामी खोप नलगाएका

गम्भीर प्रकारका अधिकांश बिरामी भने खोप लगाएका नै छन् । टेकु अस्पतालका निर्देशक डा भण्डारीका अस्पतालमा खोप लगाएर पनि संक्रमित भएकाहरू भर्ना हुनु परेको छैन ।

‘खोप लगाएका भर्ना हुनु परेका तथ्य निकै कम छन् । गम्भीर देखिएका र मृत्यु भएका धेरैजसो बिरामी युवाहरू छन् । जसले खोप लगाएमा थिएनन्,’ उनी भन्छन् ।

डा. भण्डारी तेस्रो वेभको जोखिमबाट जोगिन सरकारले खोपलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । ‘खोपको वितरण प्रभावकारी गराउन सकियो भने तेस्रो वेभको जोखिम निकै कम हुन्छ । जनस्वास्थ्यको मापदण्ड र खोपको आवश्यकतालाई सरकार र नागरिकले ध्यान दिनुपर्छ,’ उनी सुझाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर