पेट्रोलियम पदार्थ आयातको अवरोध हट्दै, ट्यांकरचालकलाई खोप लगाउने सहमति – Nepal Press

पेट्रोलियम पदार्थ आयातको अवरोध हट्दै, ट्यांकरचालकलाई खोप लगाउने सहमति

काठमाडौं । पेट्रोलियम पदार्थको आयातमा भएको अवरोध मंगलबारदेखि हट्ने भएको छ । कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको आयात ठप्प बनाएका थिए ।

अत्यावश्यक सेवामा पर्ने पेट्रोलियम पदार्थको ढुवानीलाई सुचारु गर्न बागमती प्रदेशका ट्यांकर चालक र सहचालकलाई खोपको व्यवस्था गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले राखेका जायज माग पूरा गर्न निगम तयार रहेको बताए ।

पौडेलले भने, ‘हामीले उद्योग मन्त्रालयसँग कोरोनाको खोप मागेका छौं । मन्त्रालयले सीसीएमसीलाई खोपको लागि पत्र लेखेको छ । भोलि खोपको व्यवस्था हुन्छ र तेलको ढुवानी सेवा सञ्चालनमा आउने छ ।’

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय थानकोट डिपोमा भोलिबाट चालक र सहचालकलाई कोरोना विरुद्दको खोप लगाएर ढुवानी सेवामा फर्काइने जानकारी दिए । ‘अहिले हामीसंग १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ उपलब्ध छ । मंगलबारदेखि आयात सुचारु भएपछि तत्काललाई समस्या देखिदैन’, उपाध्यायले नेपालप्रेससंग भने । निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

उद्योग मन्त्रालयले अत्यावश्यक सेवामा सक्रिय व्यक्तिका लागि कोरोना खोपको प्रबन्ध गर्न सीसीएमसीलाई पत्राचार गरिसकेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । ‘ट्यांकर चालकका लागि २ हजार ५०, ढुवानी सेवाका लागि ४ हजार ६ सय, नेपाल आयल निगमका लागि १ हजार, यातायात व्यवसायीको लागि १ लाख ४० हजार र ग्यास बिक्रेताको लागि ४ हजार ६ सय डोज खोप मागेका छौं । सीसीएमसीले प्राथमिकताका आधारमा उपलब्ध गराउछौं भनेको छ’, केसीले भनिन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने डिपोका ट्यांकर चालकले आयात सुचारु गर्ने जानकारी दिए । खोप नलगाएका चालकले भने अहिले नै आयातको काम नगर्ने लामाको भनाई छ । हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर