फुटबल कप्तान भन्छन् : अस्ट्रेलियासँग मरेर खेल्यौं, अरु एसियन पावरहाउससँग पनि खेल्न पाऊँ – Nepal Press

फुटबल कप्तान भन्छन् : अस्ट्रेलियासँग मरेर खेल्यौं, अरु एसियन पावरहाउससँग पनि खेल्न पाऊँ

काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोटका क्रममा नेपाली फुटबल टिमले कुवेत भ्रमण गरेर आइतबार साँझ स्वदेश फर्किएको छ । अघिल्ला भ्रमणभन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । सधै रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङले उल्लेख गरे ।

नेपाल समूह तालिकाको चौंथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ सालमा चीनमा एसियन कपको झिनो आशा प्लेअफ मात्रै बाँकी छ । तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा नभएको भए कुवेतमा खेलेका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने थियो ।

कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हालेपछि नेपालको शैली विगतकोभन्दा फरक देखियो । प्रशिक्षक अलमुताइरीले नेपाली टोली बलिया टोलीसँग पनि भिड्न सक्छ भन्ने मानिसिकता थपिदिएका छन् ।

नेपाल फर्किएपछि कप्तान चेम्जोङसँग गरिएको कुराकानीः

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो ?

कुवेतको तीनवटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेलेको छ । धेरै कुरा सुधारिएको छ ।

चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन । नसक्नुमा हामी कहाँ चुक्यौं ?

कुवेत जानुअघि इराक भ्रमण गरेर प्राप्त उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेइसँग थियो । ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा टोली निकै बलियो थियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्णरुपमा तयार थियौं ।

तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं । भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो । उनीहरुको खेललाई पनि । जित्नुको विकल्प हामीसँग थिएन । सोहीअनुसार कोचले दिएको निर्देशनलाई खेल अवधिभर पालाना गर्‍यौं ।

पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसला मिल्यो । पछि दोस्रो गोल पनि निस्कियो । बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौं । राम्रो खेल्यौं ।

दोस्रो खेल जोर्डनविरुद्ध उसैको मैदानमा खेलेका थियौ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै थियो । त्यसबेला पेनाल्टीबाट हामी पछि परेका थियो । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि फुटबलको पाटो हो ।

जोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यौं । सुधारको प्रयास गरे पनि अलमलमा पर्‍यौं । जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं । अंक खोस्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थियौं । ३-० ले नै हार्ने सोचेका थियौं । तर खेलमा सोही नतिजा दोहोरियो ।

एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त ?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रोलागि राम्रो मौका रह्यो । पहिलोभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं । सोहीअनुसार तयारी पनि गरेका थियौं ।

पहिलो हाफमै १० खेलाडीमा सिमित भए पनि समग्र टोली एक बनेर बनेर खेल्न सफल भयौं । वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं । अस्ट्रेलियासँगको खेलमा टिममेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए ।

आउँदा दिनमा अब एसियाका अन्य पावरहाउससँग खेल्नु पर्छ र खेल्नपाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरानजस्ता टोलीसँग खेल्न पाउँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारको अवसर पाउँछौं । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ ।

जितका लागि खेल्नुभन्दा पनि अनुभव महत्वपूर्ण हो । हार्ने आँकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रोपटक आमनेसामने हुने अवसर पाउँदा सुधारिएको खेल देखाएका छौं ।

अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन । टोलीले एकजुट भएर खेल्दा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले बाटो देखाउने हो ।

नेपाली टोलीलाई सम्हाल्नुभएका नयाँ प्रशिक्षक अब्दुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनुभएको छ । यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरिदिनु भएको छ ।

उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ । अन पिच, अफ पिचमा सबै खेलाडीलाई मोटिभेसन दिनु भएको छ । नयाँ खेलाडीमा फाइटिङ स्पिरिट विकास भएको छ ।

तर प्रशिक्षकको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ । सोही अनुसार उहाँले परीक्षण गर्नु भएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं । सोहीअनुसार हामीले पालना गरेका छौ ।

नेपालले एट्याकिङ फुटबल खेलेको छ । युवा र पाका खेलाडी पनि टोलीमा रहेका छन् । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरु वर्षभरि नै व्यस्त हुनु पर्‍यो । व्यस्त तालिका पनि हुनु पर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु पर्‍यो । पहिलोपटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ ।

यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई व्यस्त रहन र अवसर खोज्नका लागि निकै मद्दत गर्छ । लिगहरु लामो समयसम्म हुनु पर्छ । व्यावसायीक हिसाबले लिगहरु सञ्चालन हुनुपर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनु पर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ ।

हामीभन्दा माथिल्लो र तल्लो स्तरका देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरैभन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ । सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु पर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातावरण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँगको पटक-पटक खेल्न पायौं भने अवश्य नै हामीले सुधारिएको खेल देखाउन सक्छौं । कमी-कमजोरीहरुलाई नियाल्न सक्छौ ।

नेपालको तुलनामा विदेशतिर लामो समयसम्म लिग सञ्चालन हुन्छ । एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ । बलियो टोलीसँग पटक-पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *