इजरायलको प्रधानमन्त्रीमा बेनेट निर्वाचित, १२ वर्षपछि नेतान्याहुले सत्ता गुमाए – Nepal Press

इजरायलको प्रधानमन्त्रीमा बेनेट निर्वाचित, १२ वर्षपछि नेतान्याहुले सत्ता गुमाए

काठमाडौं । १२ वर्ष इजरायलको प्रधानमन्त्री रहेका नेता बेन्जामिन नेतान्याहुले पद गुमाएका छन् । दक्षिणपन्थी नेता नाफ्ताली बेनेट संसदबाट प्रधानमन्त्री घोषित भएका छन् र सरकारको नेतृत्व गर्दै सपथ लिएका छन् ।

अत्यन्तै साँघुरो ६०/५९ बहुमतका आधारमा गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन्। गठवन्धको सत्ता सम्झौता अनुसार उनी सन् २०२३ सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।

आलोपालो कार्यकाल सकिएपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। इजरायलको राजनीतिमा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु एक दशकभन्दा बढी लामो समय सत्तामा रहे ।

नेतान्याहु अब दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्। संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, ‘हामी फेरि फर्किने छौं ।’

मतदानपछि संसदमा नेतान्याहुले बेनेटसँग हात मिलाएका थिए । तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरेलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन्।

‘यो इजरेलीहरूको आन्तरिक मामिला हो। हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन्।

नेतान्याहुले विपक्षीको रूपमा नयाँ गठबन्धन निर्माण र अहिलेको गठबन्धन तोड्ने प्रयास जारी राख्ने छन्। यो अहिलेसम्मको सबैभन्दा बृहत् गठबन्धन भएकाले अझ अस्थिर हुनसक्ने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर