मेलम्ची आएपछि ट्यांकर र जारको व्यापार सुक्यो – Nepal Press

मेलम्ची आएपछि ट्यांकर र जारको व्यापार सुक्यो

५० प्रतिशत माग घट्दा व्यवसायमा संकट

काठमाडौं । अढाई महिनाअघिदेखि काठमाडौंको धारामा मेलम्चीको पानी खस्न थालेपछि ‘काकाकुल’ काठमाडौंवासीले राहत पाए । तर, हरेक विकासले एउटा सानो समूहलाई नकारात्मक प्रभाव पार्छ नै । काठमाडौंमा ट्यांकर र जारबाट पानी बेचिरहेका व्यवसायी भने मेलम्ची आएपछि छटपटीमा छन् ।

दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीको मुहानबाट काठमाडौं आउँछ (यद्यपि, अहिले सुरुङको परीक्षण गर्न केही दिनका लागि वितरण रोकिएको छ) । गत वर्षको चैत १५ देखि काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न थालेका छन् । यसअघि ट्याङ्र वा जारको पानी किनेर खानेहरुका लागि अहिले त्यो वाध्यता टरेको छ ।

रिङरोड भित्रका प्रायः घरहरुमा मेलम्चीको पानी वितरण भइरहँदा यता ट्याङकरबाट हुने पानीको विक्री वितरण भने ह्वात्तै घटेको छ । मेलम्चीको पानी आएपछि काठमाडौंमा ट्यांकरको माग आधा घटेको व्यवसायी बताउँछन् ।

खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यले लकडाउनका कारण पनि पानीको व्यवसाय प्रभावित भएको बताए । अत्यधिक पानी खपत हुने कार्यालयहरु बन्द हुँदा माग धेरै घटेको उनको अनुमान छ ।

ट्यांकरको पानीको माग सिजनअनुसार पनि घटबढ हुने गर्छ । सामान्यतया हिउँदमा ट्यांकरको पानीको आपूर्ति हवात्तै बढ्छ । असोजदेखि जेठसम्मलाई सिजनका रुपमा र असारदेखि भदौसम्म अफ सिजनका रुपमा लिइन्छ । असार लागेपछि ट्यांकरको पानीको माग स्वत घट्ने गरेको थियो ।

‘तर यसपटक बैशाखदेखि नै माग ह्वात्तै घटेको छ,’ शाक्ले भने ।

वर्षौंदेखि काठमाडौंमा पानी अभाव ट्याङ्कर पूर्ति गर्दै आएको थियो । ट्यांकरले हिँउदमा दैनिक ३ देखि ४ करोड लिटर र बर्खामा दुईदेखि साढेदुई करोड लिटर पानी वितरण गर्थे । यसपाली भने चैत-बैशाखमा पनि पानीको अभाव भएन । चैत १५ देखि नियमितरुपमा मेलम्चीको पानी वितरण हुन थालेपछि सिजनमै ट्यांकरको पानीको माग घट्यो । चैतयता दैनिक १ देखि २ करोड लिटर पानी मात्रै ट्यांकरबाट आपूर्ति भएको छ । एउटा ट्यांकरले दैनिक ९ देखि १० खेप पानी आपूर्ति गर्दै आएकोमा अहिले ३ देखि ४ टिप पनि मुस्किलले पाउने गरेको छ ।

अध्यक्ष शाक्य भन्छन्, ‘घट्न त पहिलाको मनसुनमा पनि घटेकै थियो । तर अहिले मेलम्चीले गर्दा धेरै घट्यो । ’

मेलम्ची आएको एक महिनामै ट्यांकरको पानीको माग ३० प्रतिशत घटेको उनी बताउँछन् । सुरुसुरुमा त सबैतिर पानी पुगिसकेको पनि थिएन । अहिले धेरैजसो शहरहरुमा पानी पठाइसकेको छ ।

मनसुन सकिएपछि पानीको मुहानहरु सुक्न थाल्छन् । त्यो समयमा मेलम्चीको पानीले सर्वसाधरणको मागलाई कति धान्न सक्छ भनेर हेरेपछि ट्यांकरको व्यवसाय कति प्रभावित हुन्छ भन्न सकिने शाक्यको भनाइ छ ।

अफसिजनमा आशा

पानीको आपूर्ति घट्ने भएकाले व्यवसायीहरु असारदेखि भदौसम्मलाई अफसिजन मान्छन् । तर यसपटक भने असार–साउनमा पानीको माग चैत बैशाखमाभन्दा बढी आउन सक्ने आशा व्यवसायीले गरेका छन् ।

मेलम्चीको सुरुङ परिक्षण गर्नुपर्ने भएकाले सुरुङ खाली गरेर निरीक्षण गर्न दुई महिना लाग्ने भनिएको छ । असार १ गतेदेखि काठमाडौंमा पानी वितरण रोकिँदा ट्यांकरको पानीको आपूर्ति बढ्नेमा आश्वस्त छन् व्यवसायीहरु ।

शाक्य भन्छन्, ‘काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द हुँदा ट्यांकरको पानीको माग बढ्न सक्ने आंकलन गरेका छौं । त्यो बेलामा एकदमै हाहाकारको अवस्था हुन सक्छ ।’

शहरको पुरानो वितरण लाइनमा केयुकेएलले मेलम्चीको पानी जोडिसकेको छ । मेलम्चीको पानी बन्द हुने अवधिमा नयाँ वितरण लाइन भत्काएर पुरानैबाट वितरण गर्नुपर्ने हुन्छ । तर दुई महिनाको लागि केयुकेएलले नयाँ वितरण लाइन भत्काएर पुरानो लाइन जोड्न सम्भव नहुने अध्यक्ष शाक्य बताउँछन् । भन्छन्, ‘उहाँहरुले कसरी व्यवस्थापन गर्नुहुन्छ । त्यो उहाँहरुमा भर पर्ने कुरा हो । हामीले पनि भन्न सक्दैनौ ।’

रोजगारीको समस्या

संघका अनुसार देशभर एक हजार ट्याङकरहरु सञ्चालनमा छन् । ट्यांकर व्यवसायसँग झण्डै २ हजार मजदुर जोडिएका छन् ।

मेलम्चीको पानी आइसकेपछि धेरैलाई ट्याङकर व्यवसायमा टिक्न गाह्रो हुने अवस्था छ । विस्तारै यो समस्या झनै बढ्ने व्यवसायी संघका अध्यक्ष शाक्य बताउँछन् ।

‘धेरैजसोले ऋण लिएर व्यवसाय गरेका हुन्छन् । कसैको वैकल्पिक व्यवसायको रुपमा पनि सञ्चालन भइराखेको छ । अब यसले स्वरोजगारहरुलाई सिधै असर गर्छ जस्तो लाग्छ । आम्दानी ३० प्रतिशतमाझर्ने वित्तिकै व्यवसायमा टिक्न गाह्रो पर्छ ।’

धेरै व्यवसायी अझै पर्ख र हेरकै अवस्थामा रहेको छन् । अहिले तत्काल व्यवसाय छोडेको अवस्था छैन । तर केहीले वैकल्पिक रुपमा अर्को काम खोज्न थालिसकेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ट्याङकर व्यवसायीहरुलाई विस्तारै वैकल्पिक व्यवसाय खोज्न आग्रह गरेको छ । दुई वर्षभित्र वैकल्पिक व्यवसायमा जान केयूकेएलले सुझाएको छ ।

रिङरोडबाहिरको माग यथावत

ट्यांकर व्यवसायीहरुका अनुसार अहिले ट्यांकरको पानीको माग विशेषगरी रिङरोडबाहिरका वस्तीहरुबाट आइरहेको छ । शहरभित्र भने माग शून्यजस्तै भइसकेको उनीहरु बताउँछन् ।

रिङरोड बाहिर पनि घरहरु बनिसकेका छन् । तर ती एरियाहरुमा खानेपानीको पाइपलाइन पुगेको छैन । मेलम्चीको पानी त्यता नपुग्दा पानीको माग अहिले तीनै क्षेत्रबाट मात्रै आइरहेको छ ।

घरायसी प्रयोजनको लागि मेलम्चीको पानीले पुगे पनि विजनेश, अस्पतालहरुमा मेलम्चीले पनि नपुग्ने भएकाले ट्यांकरको पानी हुने बताउँछन् व्यवसायीहरु ।

मेलम्चीको पानीवितरणको लागि पुरानो पाइपलाइनबाट भइरहेको छ ।

केयुकेएलका पदाधिकारीकाअनुसार अब नयाँ पाइपलाइनबाट पानी सूचारु गर्नको लागि डेढदेखि २ वर्ष लाग्न सक्ने अनुमान गरेका छन् ।

जारको पानीमा पनि प्रभाव

मेलम्चीले ट्याङ्कर व्यवसाय संकटमा परे पछि जारको पानीमा बेच्नेहरुलाई पनि प्रभाव परेको छ । देशैभर बोतल तथा जारको पानी विक्री वितरण गर्ने व्यवसायीहरुको संगठन बोतल तथा जार एसोसिएनका अनुसार जारको पानीको बिक्रीमा ३० प्रतिशतले मात्र कमी आएको छ ।

बोतल तथा जार एसोसिएनका महासचिव दुर्गा गौतमले भने, ‘मेलम्ची आएपछि व्यवसाय कमजोर भएको छ ।’

यसअघि दैनिक साढे ३ लाख लिटर पानीको माग हुन्थ्यो । एक लाखमा आइपुगेको छ । यसरी माग घट्नुको कारण मेलम्ची मात्र नभएर कोरोना पनि हो ।

देशैभर ५ सय ५१ वटा पानी फयाक्ट्रीहरु छन् । काठमाडौं उपत्यका र बनेपाभित्र १ सय ५५ वटा पानी फयाक्ट्रीहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर