निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न रुपन्देहीका उद्योगी-व्यवसायीहरुको सुझाव – Nepal Press

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न रुपन्देहीका उद्योगी-व्यवसायीहरुको सुझाव

रुपन्देही । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै डेढ महिनादेखि रुपन्देहीमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् । उद्योगी, व्यवसायीहरुको आइतबार बसेको बैठकले लामो समयदेखि जारी निषेधाज्ञासँगै कोरोना संक्रमण संख्यामा कमी आएको भन्दै उच्च स्वास्थ्य सावधानी तथा सतर्कता अपनाएर खुकुलो बनाउन सुझाएका छन् ।

कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरी उद्योगी व्यवसायीहरुको राय-सुझावसहित निषेधाज्ञालाई खुकुलो बनाउन आग्रह गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

बैठकले निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाउन, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गर्न ,जारी निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न ,माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रिका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिन सुझाव दिएको छ ।

व्यवसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । फ्रन्टलाइनमा काम गर्ने चालक, उद्योगी व्यबसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यबस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ । जेठ ३१ गते यसअघि थपिएको निषेधाज्ञा सकिदै छ । यसबारे औपचारिक निर्णय भने सोमबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर