नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट १० महिनाभित्र तयार हुने, लागत १ अर्ब – Nepal Press

नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट १० महिनाभित्र तयार हुने, लागत १ अर्ब

भारतमा समेत पठाउने योजना

रुपन्देही । करिब १ अरबको लगानीमा नेपालमै पहिलो पटक रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य शुरू गरिएको छ । दैनिक ६० मेट्रिक टन अर्थात ७ हजार सिलिण्डर उत्पादन गर्ने लक्ष्यसहित शुरु गर्न लागिएको यो प्लान्टको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गरे ।

रुपन्देहीको रोहिणी गाउँपालिका- ७ सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुनेछ । यसबाट सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताएका छन् ।

कम्पनीका प्रबन्धक शम्भु भण्डारीले १ अर्ब अनुमानित लगानीमा १० महिनाभित्रमा संचालन गर्ने गरी प्लान्टको शुरू गरिएको नेपाल प्रेसलाई बताए ।

‘नेपालमा सबै उत्पादन खपत हुने अवस्था छैन, भारतमासमेत निर्यात गर्नेगरी तयारी गरेका छौं’, उनले भने, ‘सरकारले भन्सार छुट, कर छुट र विद्युतमा छुट गरेकाले उद्योग स्थापना गर्न सहयोग पुग्ने भएको छ ।’

उनले जग्गाको सबै व्यवस्थापन भइसकेकाले मेशिनरी सामानका लागि केही समय लाग्ने बताउँदै सकेसम्म छिटो संचालन गर्ने बताए । निजी क्षेत्रबाट देशकै पहिलो उद्योग संचालन हुन लागेकाले सबै क्षेत्रबाट सहयोग पाउने उनले अपेक्षा गरेको बताए ।

रुपन्देहीमा हाल तीनवटा अक्सिजन उद्योग छन् । दैनिक १ हजार १ सय २६ सिलिण्डर अक्सिजन उत्पादन गर्ने ती उद्योगको क्षमता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर