म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन – Nepal Press

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ ।

बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए ।

प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए । प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, ‘म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनः स्थापना लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी-७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौं, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौं ।’

प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।
म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ । त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निश्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर