कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने – Nepal Press

कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेशको आगमी बजेटमा कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

मन्त्री ढुङ्गेलले भने- आगामी बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ पनि बजेट विनियोजित गरिनेछ ।

ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको जानकारीसमेत दिए ।

उनले प्रदेशमा कोभिड-१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे ।

उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी ६ महिनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।

मन्त्री ढुङ्गेलले अघिल्लो आव २०७७/७८ मा करीब ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर