कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै – Nepal Press

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै

काठमाडौं । आइतबार रातिदेखि कोपा अमेरिकाको २७औं संस्करण सुरु हुँदैछ । कोलम्बिया-अर्जेन्टिना-अर्जेन्टिना हुँदै ब्राजिल पुगेको कोपा अमेरिका २०२१ को पहिलो खेलमा घरेलु टोलीले उत्तरी छिमेकी मुलुक भेनेजुएलाको सामना गर्नेछ ।

सन् २०१९ मा १२ वर्षपछि नवौं पटक च्याम्पियन बनेको ब्राजिल आजको खेलमा जित हासिल गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । दक्षिण अमेरिकी फुटबलमा पछिल्लो साता अचम्मको कुरा त के भयो भने: दक्षिण अमेरिकी फुटबल महासंघले अन्तिम क्षणमा ब्राजिललाई आयोजनाको जिम्मेवारी दियो । कोलम्बियामा आन्दोलन चर्किने र अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि त्यहाँ नहुने निश्चित भएको थियो ।

परिणाम स्वरूप ब्राजिल पुगेको कोपा अमेरिकाको विरुद्धमा नेइमार र क्यासिमिरोले खुलेर आलोचना गरेका थिए । कोरोना भाइरसको महामारी बेला फुटबल प्रतियोगिताको आयोजना भन्दा प्राथमिकताको विषय स्वास्थ्य हुनुपर्ने बताएका थिए । तर, यी विभिन्न परिस्थितिका बाबजुद पनि आज राति देखि प्रतियोगिताको सुरुआत हुँदैछ ।

पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने ब्राजिलले सतप्रतिशत जित निकालेको छ । अर्का तिर भेनेजुएलालले ४ खेलमा हार र एक जित-एक बराबरीको नतिजा निकालेको छ । 11vs11 को डेटाअनुसार ब्राजिलविरुद्ध भने २२ पटक खेलेको भेनेजुएलाले ३ खेलमा बराबरी र २ खेलमा जित निकालेको छ । ब्राजिलले भने १७ खेलमा जित हासिल गरेको छ ।

भेनेजुएलाले २००८ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध अन्तिम पटक २-० को जित निकालेको थियो । त्यस्तै २०१२ को कोपा अमेरिकामा भने गोलरहित बराबरी खेलेको थियो । यी दुई टोलीबीच २०२० मा भएको विश्वकप छनोटमा ब्राजिलले १-० को जित निकालेको थियो ।

उत्कृष्ट फर्ममा रहेको ब्राजिलविरुद्ध आज अंक हासिल गर्नु भेनेजुएलाका लागि निकै कठिने हुने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *