बाँचुन्जेल बाँड्न चाहने परोपकारी ताराबहादुर – Nepal Press

बाँचुन्जेल बाँड्न चाहने परोपकारी ताराबहादुर

काठमाडौं । कुनै बेला काठमाडौंका सडकमा ठेला चलाएर जीवन गुजारा गर्ने ताराबहादुर कुँवर यतिबेला ठेला तथा रिक्सा चालकहरुका लागि सहयोगी बनेका छन् । हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको पूर्व अध्यक्ष समेत रहेका कुँवर समाजसेवामा रमाइरहेका छन् ।

बाफलमा रहेको ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’ को परिसरमा पुग्ने कोहीपनि विपन्न व्यक्ति रित्तो फर्कनुपर्दैन । कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएयता झण्डै ५ सय परिवारलाई कुँवरले खाद्यान्न सहयोग गरिसकेका छन् । शनिबार कुँवरको कार्यालय परिसर पुग्दा ४५ जना ठेला चालकहरुलाई पर्याप्त खाद्यसामाग्री वितरण गर्दै थिए । त्यस्तै अन्य ३० विपन्न परिवारलाई पनि उनले चामल, दाल, नुन, तेल लगायतका सामान वितरण गरे । ‘लकडाउनले काम गरेर खानुपर्ने मान्छेलाई बाँच्न गाह्रो परेको छ । त्यसैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको हुँ’, कुँवरले भने ।

हजुरलाई नमस्ते परोपरकारी अभियानमार्फत उनले खाद्यदेखि स्वास्थ्य सामाग्रीसम्म वितरण गरेका छन् । कुनैबेला ठेला चालक, टेम्पो चालक हुँदै अहिले प्रतिष्ठित व्यवासायी बनेका कुँवर बाँचुन्जेल बाँड्न पाए खुसी हुने बताउँछन् । ‘अघि भर्खर मैले पुराना साथीहरुलाई दालचामल सहयोग गरे । उहाँहरु र म संगै ठेला चलाउँथ्यौ पहिला । म अहिले यो स्थानमा आइपुगेको छु । विगत बिर्सन सक्दिन त्यसैले सबैलाई सहयोग गर्छु’, कुँवरले नेपाल प्रेससंग भने ।

आफ्नो जीवनमा श्रम र मेहेनतलाई नै मूलमन्त्र बनाएका कुँवर चक्रपथ सरसफाई अभियानका संयोजकसमेत हुन् । हरेक शनिबार चक्रपथ क्षेत्र सरसफाई गर्ने कुँवरको अभियानमा नेपालका धेरै प्रतिष्ठित व्यक्तिहरु सहभागि हुनेगरेका छन् । अघिल्लो वर्षको लकडाउनको अवधीमा कुँवर एक्लैले झण्डै २ हजार परिवारलाई निरन्तर खाद्यान्न सहयोग गरेका थिए । अहिले उनले रवि लामिछानेको अस्पताल अभियानका लागि ३८ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् भने निःशुल्क एम्बुलेन्स सेवाका लागि पनि नगद सहयोग गरेका छन् । परोपकारी अभियानमा कुँवरले आफ्ना अन्य व्यवसायी साथीहरुलाई पनि जोड्दै लगेका छन् । ‘सुरुमा सबै अभियान एक्लै थालेको हो । अहिले केही साथीहरुपनि जोडिनुभएको छ । भोक र रोगले कोही नमरोस् । हामी सकेको सेवा गर्छौ’, कुँवर भन्छन् ।

विगतमा आफू ठेलाचालक हुँदा भोगेको दुःख कुँवरले बिर्सेका छैनन् । ‘गरिबी र भोकसंग लडेर आजको अवस्थामा आइपुगेको हुँ । अहिले मलाई खानबस्न पुगेकै छ । बाँचुन्जेल बाँड्न पुग्यो भने सफल भएको ठान्नेछु’, उनी भन्छन् । कुँवरको व्यवसायदेखि समाजसेवासम्मको नाममा ‘हजुरलाई नमस्ते’ उल्लेख हुन्छ । कुनैबेला काठमाडौंमा टेम्पो चलाँउदा टेम्पोको पछाडि उनले ‘हजुरलाई नमस्ते’ लेखेका थिए । आफ्नो संघर्ष जोडिएको शब्द भएकोले कुँवरले त्यसैलाई निरन्तरता दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर