नचाहँदा नचाहँदै कोपा अमेरिका आयोजना गर्दै ब्राजिल – Nepal Press

नचाहँदा नचाहँदै कोपा अमेरिका आयोजना गर्दै ब्राजिल

काठमाडौं । दुई वर्षअघि कोपा अमेरिकाको तयारी गरिरहँदाभन्दा अहिले ब्राजिलका प्रशिक्षक टिटेको जागिर सुरक्षित छ । घरेलु मैदानमा भएको कोपा अमेरिका जिताएका टिटेले ब्राजिलियन फ्यानले खेपेको १२ वर्षे उपाधि खडेरीमा पूर्णविराम लगाइदिए र सेलिब्रेसनको मौका दिए ।

आज रातिदेखि घुमिफिरी फेरि ब्राजिल आइपुगेको कोपा अमेरिकाको ४७औं संस्करण सुरु हुँदैछ । अहिलेसम्म ९ पटक च्याम्पियन बनिसकेको ब्राजिल यसपटक पनि बाजी मार्दै उपाधि घरैमा राख्ने योजनमा छ । र, ब्राजिलको उपाधि रक्षा यात्रा आज राति २:४५ बजे हुने भेनेजुएलाविरुद्धको खेलबाट सुरु हुनेछ ।

यसपटकको कोपा अमेरिका कोलम्बिया र अर्जेन्टिनामा हुने तय भएको थियो । तर, कोलम्बियामा आन्दोलन चर्किँदै गएपछि अर्जेन्टिनामा हुने भनिएको थियो ।

त्यहाँ पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि अन्तिम अवस्थामा आएर प्रतियोगिता हुने कि नहुने नै अन्योल सिर्जना भएको थियो । तर, दक्षिण अमेरिकी फुटबल महास‌ंघले ब्राजिलमा गर्ने निर्णय गरेसँगै प्रतियोगिता आज रातिबाट सुरु हुँदैछ ।

यद्यपि, ब्राजिल भने यी दुवै समस्याबाट गुज्रिरहेको देश हो । ब्राजिलमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ लाख ८० हजार जनाले ज्यान गुमाइसकेका छन् । करिब सोही संख्यामा अन्य मानिसहरू महामारीमा उचित तरिकाले नेतृत्व गर्न राष्ट्रपति जेर बोल्सोनारो असफल भएको विरोध गर्न सडकमा उत्रिएका छन् ।

टिटे र उनका खेलाडीहरू कोपा अमेरिका ब्राजिलमा सरेकोमा सन्तुष्ट छैनन् । कप्तान क्यासिमिरो तथा नेइमारले देशमा स्वास्थ्य संकट आइपरेका बेला प्रतियोगिता आयोजना हुनु सान्दर्भिक नहुने प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *