को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ? – Nepal Press

को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ?

काठमाडौं । युरो २०२० को समूह ‘बी’ अन्तर्गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलमा डेनमार्क १-० गोलको नतिजामा पराजित भयो । पहिलो पटक विश्व फुटबलका आधिकारिक ठूला प्रतियोगिताको रूपमा युरो २०२० खेलिरहेको फिनल्यान्डले जितको खुशी खुलेर मनाउन पाएन । न त फिनल्यान्डका लागि ठूलो प्रतियोगितामा पहिलो ऐतिहासिक गोल गरेका जोइल पोजान्पालोले त्यो खुशी मनाउन पाए ।

जसको कारण रह्यो- डेनिस प्लेमेकर क्रिस्टियन एरिकसन एकाएक मैदानमा ढल्नु । शुक्रबार रातिदेखि सुरु भएको ‘मिनि विश्वकप’ अर्थात युरो २०२० को समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा डेनमार्क र फिनल्यान्डको भेट निश्चित थियो ।

नव प्रवेशी फिनल्यान्ड डेनमार्कले गरेको निरन्तर आक्रमण खेपिरहेको थियो । पहिलो हाफको खेलसकिन ३ मिनेट बाँकी रहँदासम्म पनि डेनमार्कले गोलका लागि निरन्तर प्रयास गरिसकेको थियो । सोही क्रममा २९ वर्षीय डेनिस प्लेमेकर एरिकसन जोकिम मेहेलको ‘थ्रो-इन’ पर्खिरहेका थिए ।

मेहेलले बल थ्रो इन त गरे तर एरिकसनले रिसिभ गर्न सकेनन् । उनी बल रिसिभ गर्न खोज्दा-खोज्दै २-३ पाइला अगाडि बढेर भुइँमा घोप्टो परेर ढले । बल इन प्लेमै रहँदा मेहेलले बल अगाडि बढाउने लागेका थिए । तर, फिनल्यान्डका खेलाडी जुक्का राइतालाले एरिकसनतर्फ देखाउँदै उपचारका लागि गुहारेको देखिन्छ । राइतालापछि खेलका रेफ्री एन्थोनी टेलरले तुरुन्तै मेडिकल टोलीलाई बोलाए मैदानमा बोलाएका थिए ।

त्यसपछि मेडिकल टीमले करिब २० मिनेटसम्म एरिकसनको मैदानमै उपचार गर्‍यो । उनलाई डेनमार्कका खेलाडीहरूले घेरेर उभिएका थिए भने बीचमा उनलाई कार्डियोपोल्मोनरी रिससिटेसन (सीपीआर) गरिँदै थियो । एरिकसनको मैदानमै त्यो अवस्था देखेर त्यहाँ उपस्थित दुवै टोलीका खेलाडी तथा दर्शक रोएका थिए । मैदानमा सन्नाटा छाएको थियो ।

के भएको होला, अब के हुने होला भन्ने बेचैनीले विश्व फुटबललाई नै पिरोलिरहेको थियो । केही समय मैदानै उपचार गरेर पिचबाट बाहिर निकाल्दै गर्दा केही बेरअघि अचेत भएर ढलेका एरिकसनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनले आँखा खोलेर होसमा आए झैँ देखिने तस्वीर सार्वजनिक भयो ।

केही बेरमा युइएफएले खेल स्थगित गरिएको र एरिकसनलाई अस्पताल पठाइएको घोषणा गर्‍यो । त्यसबेलासम्म सामाजिक सञ्जालमा सामान्य फुटबल फ्यानदेखि विश्व फुटबलका स्टारसम्मले उनको स्वास्थ्य लाभको कामना गरिरहेका थिए ।

उनलाई थप उपचारका लागि कोपनहेगनकै रिग्सहस्पिटलमा पठाइएको डेनमार्क फुटबल संघले जानकारी दियो । त्यसको १५ मिनेट नबित्दै उनी होसमा आएको र खेल ३० मिनेटपछि सुरु हुने पनि युइएफएले पुष्टि गर्‍यो ।

अहिले पनि एरिकसनको उपचार जारी छ । उनको अवस्था अहिले खतरामुक्त रहेको समाचार अन्तर्राष्ट्रिय माध्यममा आइरहेका छन् । एरिकसन आफैँले अस्पतालबाट भिडियोकल गरेपछि डेनमार्कका खेलाडी ४२ मिनेटसम्म पुगेको खेल टुङ्ग्याउन तयार भए ।

नेपाली समयअनुसार राति १२:१५ बजे खेल पुन: सुरु भयो । एरिकसनको स्थानमा डेनमार्कले म्याथियास जेन्सेनलाई मैदानमा उतार्‍यो । जोइल पोजान्पालोले ५९औं मिनेटमा गरेको गोलसँगै पहिलो ठूलो प्रतियोगिता खेलिरहेको फिनल्यान्डले अग्रता लिएको थियो । बराबरी गोलका लागि आत्तुर देखिए पनि ७४औं मिनेटमा पिएर एमिल होइबर्ग पेनाल्टीमा गोल गर्न चुकेसँगै डेनमार्कले मौका गुमायो ।

भलै हिजो खेलमा डेनमार्क पराजित भयो तर एरिकसनको स्वास्थ्य अवस्था त्यो भन्दा चिन्ताको विषय थियो । तर, अहिले उनी खतरामुक्त भन्ने सूचना बाहिर आएसँगै विश्वभरका फुटबलप्रेमी खुशी भएका छन् ।

को हुन् एरिकसन ?

डेनमार्कको मिडिलफार्टमा १९९२ मा जन्मिएका एरिकसनले डच क्लब आयाक्सबाट व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । आयाक्सबाट उनले २०१०/११, २०११/१२ र २०१२/१३ मा एर्डिभिजीको उपाधि जिते र आफूलाई एक सशक्त प्लेमेकरको रूपमा स्थापित गरे ।

एर्डिभिजीमा तीन वर्ष बिताएका एरिकसनले आयाक्सका लागि १६२ खेलमा ३२ गोल गरेका थिए । त्यसपछि टोटेनह्याममार्फत् इङ्लिस फुटबलमा उदाएका एरिकसनले ७ वर्षमा ३२० खेल खेल्दै ७२ गोल गरेका थिए । सात वर्षको इङ्ल्यान्ड बसाइ टुङ्ग्याएर २०२० मा इटाली लागेका इरिकसनले इन्टर मिलानविरुद्ध ६२ खेलमा १० गोल गरिसकेका छन् ।

युभेन्टसको ९ वर्षे प्रभुत्व टुङ्ग्याउँदै इन्टरले यसै सिजन इटालियन सिरी ‘ए’को उपाधि जित्दा एरिकसन महत्त्वपूर्ण सदस्य रहे । र, अहिले युरो २०२० का लागि डेनमार्कको टोलीका पनि स्टार र सबैभन्दा भरपर्दा खेलाडी उनै हुन्, क्रिस्टियन एरिकसन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर