नेपालमा चर्चित बनेका गोड्से, जसले गान्धीको हत्यापछि पाएका थिए मृत्युदण्ड – Nepal Press

नेपालमा चर्चित बनेका गोड्से, जसले गान्धीको हत्यापछि पाएका थिए मृत्युदण्ड

काठमाडौं । शुक्रबार बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले केपी ओलीको लागि कोही नाथुराम गोड्से बन्न आवश्यक रहेको अभिव्यक्तिले अहिले सोसल मिडिया र मास मिडिया दुवै तातेको छ ।

शनिबार पुनः बैद्यले ‘आफूले स्वतन्त्रताको धेरै नै उपयोग गरेछु’ भनेर माफी मागेका छन । उनको बक्तव्य संसदको रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएका छन ।

बाग्मती प्रदेशमा नाथुराम गोड्से च्याप्टर सकिए पनि आममान्छेमा भने को हुन् नाथुराम गोड्से भन्ने चासो प्रकट भएको छ ।

नाथुराम गोड्से : महात्मा गान्धीका हत्यारा

नाथुराम गोड्से भारतीय महान नेता महात्मा गान्धीका हत्यारा हुन । उनले सन १९४८ जनवरी ३० मा गान्धीको छातीमा तीन गोली ‘प्वाइन्ट ब्लांक रेन्ज’मा हानेर हत्या गरेका थिए । गान्धी नयाँ दिल्लीको बिरला हाउसमा प्रार्थना गर्नलाई पुग्दा गोड्सेले हत्या गरेका थिए । साँझ ५ः१७ मा गोड्सेले गान्धीको हत्या गरेका थिए ।

हत्या गरेपछि भने गोड्से नभागेको भारतीय समाचार आउटलेट न्यूज १८ ले उल्लेख गरेको छ । हत्यापछिको गोड्सेको भनाइ उदृत गर्दै न्यूज १८ लेख्छ, ‘गान्धीको अनुपस्थितिमा भारतको राजनीति निश्चितरुपमा व्यवहारिक हुनेछ । बदला लिन सक्षम हुनेछ । सैन्य शक्तिमा बलवान हुनेछ । कुनै दुविधा छैन कि मेरो भविष्य खतरामा हुनेछ तर यो देश पाकिस्तानको घुसपैठबाट भने बच्नेछ ।’

हत्या गरेको अर्को बर्ष १५ नोभेम्बर १९४९ मा गोड्सेलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको समयमा गोड्से ३९ बर्षका थिए । उनलाई अम्बला जेलमा झुन्ड्याएर मारिएको थियो । गोड्सेसँगै हत्या योजनाकार नारायण अप्टेलाई पनि मारिएको थियो ।

नाथुराम गोड्सेका भाइ गोपाल गोड्सेले ‘ह्वाइ आइ अस्यासिनेटेड गान्धी’ अर्थात ‘मैले किन गान्धिको हत्या गरेँ’ नामक पुस्तक निकालेका छन । नाथुरामको जीवन कालमा अप्रकाशित पुस्तक भनेर दाबी गरिएकोमा गान्धीको चर्को आलोचना गरिएको भारतीय न्युज आउटलेट फस्टपोस्टमा पिनाकमणी दत्तले उल्लेख गरेका छन ।

दत्तका अनुसार गोड्सेले गान्धी भारतीय स्वतन्त्रताको नेतृत्वमा नभएको भए भारत नटुक्रिने, भारत पाकिस्तान विभाजन हुँदाको नरसंहार नहुने र गान्धीको अहिंसा व्यवहारिक नभएको तर्क गरेका छन ।

सन १९४७ मा पाकिस्तानबाट कास्मिरमा सैन्य हमला आउँदा गान्धीले सत्याग्रही नपठाएर सैनिक नै पठाउन आग्रह गरेको उदाहरण दिदै यस्तो तर्क गरिएको दत्तले लेखेका छन । गोड्सेले गान्धीले हिन्दूलाई भन्दा मुस्लिमलाई माया गरेको आरोप पनि लाएका छन ।

गोड्से : सम्पादकदेखि हिन्दू हार्डलाइनरसम्म

नाथुराम गोड्सेको नाम नाथुराम हुनुको पनि रोचक प्रसंग छ । गोड्से जन्मनु अगाडि जन्मेका सबै तीन दाजुहरुको अज्ञात रोगबाट मृत्यु भयो । सन १९१० को मे १९ मा भारतीय राज्य महाराष्ट्रको पुणे जिल्लामा नाथुराम जन्मेपछि पनि यस्तै दुःखान्त हुन्छ भनेर आमाबाबुले उनलाइ छोरीजस्तो बनाए ।

रामचन्द्र नाम राखिएका उनको नाक छेडिदिए । नाक छेडेर फुली लगाइदिए । नाक छेडेर फुली लाएको रामचन्द्र भएकोले उनलाई नाथुराम भनियो । पछि भाइ गोपाल जन्मेपछि मात्रै नाथुरामलाइ छोरा जस्तो बनाइएको भारतीय मिडियाहरुले लेखेका छन । त्यहि बाल्यकालको नाथुराम नै उनको चर्चित नाम बन्यो ।

गोड्सेलाई विद्यालयमा हुँदा महात्मा गान्धीका प्रशंसक भएको भनिन्छ । तर, उनी भारतको हिन्दुहरुको संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा जोडिएपछि भने उनको धारणा परिवर्तन भएको बताइन्छ । आरएसएससँगै उनी हिन्दू महासभा भन्ने अर्को हिन्दुवादी संस्थामा पनि जोडिएका थिए ।

हिन्दु महासभाका नेता विनायक दामोदरको लगानीमा संचालन भएको पत्रिका ‘अग्रणी’का सम्पादक समेत भए गोड्से । पछि त्यो पत्रिकाको नाम ‘हिन्दू राष्ट्र’ भएको न्यूज १८ ले लेखेको छ । नाथुरामले आफ्नै नेतृत्वमा हिन्दूवादी दल समेत खोलेको न्यूज १८ बताउँछ । उनले ‘हिन्दू राष्ट्र दल’ खोलेका थिए ।

आरएसएसकै सदस्य भएकोले गोड्सेले गान्धीको हत्या गरेको धेरैको बुझाइ छ । भारतीय रास्ट्रिय कांग्रेसले सन २०१० मा पार्टीको १२५ औँ दिवस मनाउने सिलसिलामा प्रकाशित पुस्तकमा गान्धीको हत्यामा गोड्सेको आरएसएस कनेक्सन जोडिएको थियो । त्यसको आरएसएसले चर्को बिरोध गर्‍यो ।

प्रवक्ता राम माधबले गोड्सेले सन १९३० कै दशकमा आरएसएस छोडेको बताएर प्रतिवाद गरेका थिए । तर, गोड्से परिवारले भने नाथुरामले कहिल्यै आरएसएस नछाडेको बताउँदै आएका छन । यस्तै, भारतीय खोज म्यागाजिन ‘क्याराभान’ले गरेको खोजमा पनि गान्धीको हत्यासम्ममा गोड्से आरएसएस सदस्य भएको औपचारिक दस्तावेजमै देखिएको थियो ।

गोड्से : भारतीय हिन्दू हार्डलाइनरका ‘हिरो’

विश्वभर नाथुराम गोड्सेको पहिचान महात्मा गान्धीका हत्यारा भन्ने नै छ । तर, भारतीय हार्डलाइनर हिन्दूहरुमा भने गोड्से ‘हिरो’ हुन् । हरेक बर्ष गोड्सेको हत्या भएको दिन विभिन्न कार्यक्रमहरु आयोजना हुन्छन । कार्यक्रममा गोड्सेको तारिफ हुन्छ ।

सन २०२० को नोभेम्बर १५ मा हिन्दू महासभाले बिशेष कार्यक्रम गरेर गोड्सेको ७१ औँ स्मृति दिवस मनायो । महासभाका राष्ट्रिय उपाध्यक्ष डाक्टर जैभिर भारध्वजले गोड्से र अप्तेको लागि दौतथगन्जमा आरती गरेको भारतीय च्यानल एनडीटिभीलाइ बताएका थिए ।

भारतको मेरठ क्षेत्रमा गोड्सेका मूर्तिहरु बनेका र मेरठको नाम परिवर्तन गरेर गोड्से सिटी निर्माणमा मुख्यमन्त्री योगी आदित्यनाथले बताएको न्यूयोर्क टाइम्सले लेखेको छ । गोड्से समर्थकहरुले गान्धीका मूर्तिहरुको अनुहार तोडफोड गरेको समेत समाचारमा उल्लेख गरिएको छ । भारतमा गान्धीको हत्यारा गोड्सेको प्रशंसा भारतीय सत्तामा बीजेपी आएपछि बढेको न्यूयोर्क टाइम्सले लेखेको छ ।

हिन्दू हार्डलाइनरहरुको गान्धीप्रतिको घृणा र गोड्सेप्रतिको सम्मान कत्तिसम्म छ भन्ने बुझ्न सन २०१९ को एक घटना हेर्दा पर्याप्त हुन्छ । गान्धीको स्मृति दिवसमा हिन्दू महासभाको नेतृत्वमा गान्धीको पुत्ला निर्माण भयो ।

पुत्लामा नक्कली गोली हानियो । नक्कली रगत बगाइयो । र, गोड्सेको मुर्तिमा माला लाइयो । यसको नेतृत्व हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा सकुनले गरेकी थिइन । जसको भिडियो धेरै भाइरल पनि भयो ।

भारतका राष्ट्रपिता गान्धीमाथि भएको यस्तो हिंसाको धेरैबाट बिरोध भयो । सकुन लगायतका ११ जना पक्राउ परे । सार्वजनिक बिरोध र राज्यले पक्राउ गर्नुका बाबजुद हिन्दु हार्डलाइनरले आफ्ना गान्धी बिरोधी र गोड्सेसमर्थक गतिविधिहरु भने बन्द गरेका छैनन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर