वीरेन्द्रनगरको करेखोलामा ज्ञानेन्द्र शाही र स्थानीयबीच झडप, पाँच जना पक्राउ – Nepal Press

वीरेन्द्रनगरको करेखोलामा ज्ञानेन्द्र शाही र स्थानीयबीच झडप, पाँच जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराती साढे दश बजे ज्ञानेन्द्र शाहीको समूह र स्थानीय युवाहरुको समूहबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ज्ञानेन्द्र शाहीको टोली करखोलाबाट फर्किरहेको र नेवारेमा सिकर्मी काम गरेर घर पर्किएका चार जनाबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगरका १३ का सुजन सारु, ललित गाहा, टंक सलामी, घनश्याम सलामी र नवराज गिरी नियन्त्रणमा रहेका छन् ।

उनका अनुसार झडपमा परेर ज्ञानेन्द्र शाहीलगायत केही घाइते भएका छन् । पाँच जनाको समूहमा रहेका ज्ञानेन्द्र शाहीलाई सामान्य उपचारपछि डाक्टरहरूले डिस्चार्ज गरिसकेको उनको भनाइ छ ।

‘ज्ञानेन्द्र शाहीको गाडीभन्दा अगाडि वीरेन्द्रनगरतर्फ आइरहेका दुईवटा मोटरसाइकलमा सवारसँग स्थानीय समूहको विवाद भएको सुन्नमा आएको छ । त्यसपछि त्यहाँ झडप भएको रहेछ,’ डिएसपी घर्तीले भने, ‘त्यहाँबाट स्थानीयले हामीलाई जानकारी गराएपछि उहाँहरूलाई जोगाएर सुरक्षित रुपमा हामीले यहाँ ल्याएका हौं । राती अवेर भइसकेको थियो ।’

उनले शाहीको टीम त्यहाँ किन गएको भन्ने बारे पूरा नखुलेको जानकारी दिए ।

‘उहाँहरू त्यहाँ आफन्तको घरमा गएको भन्ने पनि हल्ला सुनिएको छ । यस्तै राहत बाँडन गएको भन्ने पनि सुनिएको छ,’ उनले भने, ‘कहाँ जानु भएको हो । के गरेर फर्किनुभयो भनेर जानकारी लिन हामीले प्रहरी टोली पठाइसकेका छौं । टोली आइसकेपछि विस्तृत विवरण जानकारी हुनेछ ।’

उनले पक्राउ परेका युवाहरुले मादक पदार्थ सेवन गरेको पाइएको बताउँदै शाहीको समूहले मादक पदार्थ सेवन गरे नगरेको थाहा नभएको बताए ।

उनले घटनामा कुनैपनी दल संलग्न नभएको बताउँदै मापसेका कारण नै घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । प्रहरीले यस घटनबारेमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

स्थानीयका अनुसार शाहीको समूहले पनि राती मदिरा सेवन गरेको बताएका छन । आफूहरूले प्रहरीलाई खबर नगरेको र प्रहरीले उद्धार नगरेको भए अप्रिय घटना घट्ने प्रत्यक्षदर्शीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर