तामझामसहित धनुषामा मन्त्री महासेठको स्वागत – Nepal Press

तामझामसहित धनुषामा मन्त्री महासेठको स्वागत

स्वागतद्वारमै लाखौं खर्च

धनुषा । उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागतमा धनुषाको मिथिला विहारी नगरपालिकाले लाखौं पैसा खर्च गरेको छ । मन्त्री बनेर पहिलोपटक गृहजिल्ला आएका उनलाई आज मिथिला विहारी नगरपालिकाले तामझामसहित स्वागत गरेको हो ।

मन्त्री महासेठको स्वागतमा ठाउँ-ठाउँमा भव्य स्वागतद्वार निर्माण गरिएको छ । महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महासेठ मिथिला विहारी पुग्दा पृष्पवृष्टी नै गरियो । मिथिला विहारीका मेयर अनिल यादवले मन्त्री महासेठको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।

निषेधाज्ञाकै बीच महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर मन्त्री महासेठ दम्पत्तीले निषेधाज्ञाको कुनै परवाह गरेनन् ।

स्वागतमा कति बजेट खर्च गर्नुभयो भन्ने जिज्ञासामा उनले मेयर यादवले भने, ‘यो कुनै प्रश्न भयो ? प्रधानमन्त्री र मन्त्रीहरु आएपछि स्वागत त गर्नैपर्छ नि । गेट र मालामा कति नै खर्च लाग्छ र !’

मेयर यादव नेकपा एमालेबाट निर्वाचित हुन् । उनले मन्त्री महासेठ नगरपालिकाभित्र ३ वटा पुलको शिलान्यास र एउटा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

मन्त्री महासेठ दम्पत्ति हिजो नै गृहजिल्ला धनुषा आएका थिए । धनुषा प्रवेश गरेलगत्तै उनलाई मिथिला नगरपालिकाले स्वागत गर्यो । उनीहरुलाई पञ्चकन्याले फुल अर्पण गरेका थिए ।

मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ ठाउँमा गेट बनाउन लगाएका थिए । कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैया खर्चेका छन् । दुबै ठाउँका मेयर मन्त्री महासेठ निकट व्यक्ति हुन् ।

अक्सिजन वितरणमा भेदभाव

मन्त्री महासेठले शुक्रवार धनुषाका १८ वटै स्थानीय तहलाई अक्सिजन सिलिण्डर वितरण गरे । तर अक्सिजन वितरणमा पनि भेदभाव गरिएको खुलासा भएको छ ।

मिथिला नगरपालिका र मिथिला विहारी नगरपालिकामा मन्त्री महासेठले १०÷१० थान अक्सिजन सिलिण्डर बाँडे । तर अन्य स्थानीय तहलाई ५/५ थान मात्र अक्सिजन सिलिण्डर बाँडिएको छ ।

अक्सिजनको सबैभन्दा बढी आवश्यकता जनकपुरधाम उप–महानगरपालिकालाई छ । बाहिरका संक्रमित व्यक्ति पनि जनकपुरधाम आएर उपचार गराइरहेका छन् । तर जनकपुरधामलाई पनि मन्त्री महासेठले ५ थान अक्सिजन सिलिण्डर मात्र हस्तान्तरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर