आजदेखि नेपालमा मनसुन प्रवेश, दुई दिनभित्र देशभर पुग्ने (भिडिओ) – Nepal Press
नेपाल टक

आजदेखि नेपालमा मनसुन प्रवेश, दुई दिनभित्र देशभर पुग्ने (भिडिओ)

झन्डै ११३ दिन नेपालमा मनसुन सक्रिय हुने

काठमाडौं । नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । पूर्वी नेपाल हुँदै काठमाडौंको आकाशसम्म आइपुगेको मनसुन दुई दिनभित्र देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बंगालको खाडीबाट आइपुगेको मनसुनले शुक्रबार काठमाडौं लगायतका ठाउँमा हल्का-मध्यम वर्षा गराएको बताए । पानी पर्ने प्रणाली विकास भएसँगै आउने साताभर देशभर पानी पर्ने उनको भनाइ छ ।

बंगालको खाडीमा विकसित भएको न्यून चापिय क्षेत्रको कारण आजबाट नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको हो । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का वर्षादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पौडेलको सुझाव छ ।

नेपालमा मनसुन औषत जुन १३ देखि सुरु भएर सेप्टेम्बर अन्त्यसम्म रहने गर्छ । यसपटकको मनसुन झन्डै ४ महिना (११३ दिन) रहने मौसमविद् पौडेलको भनाई छ । यो वर्ष समयमै मनसुन सुरु भएकाले खेतीपाती, धान रोपाइँ र वीउविजन राख्न सजिलो हुने छ ।

मौसमविद्हरुको दक्षिण एसियाली संजाल साउथ एसिया क्लाइमेट आउटलुक फोरमले पनि यसवर्ष दक्षिण एसियाली क्षेत्रमा औषतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । २४ घण्टामा ५० देखि ६० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई अधिक वर्षा मानिन्छ । ५० मिलिमिटर कम भए कम वर्षा मान्ने गरिन्छ । यसवर्ष २४ घण्टामा ५० देखि ६० मिलिमिटर पानी पर्ने अनुमान गरिएको छ ।

यो साता लगातार पानी पर्ने भएकाले पूर्वसावधानी र सतर्कता अपनाउन विभागले अपिल गरेको छ । ‘आजैदेखि पूर्वतयारी सुरु गर्नुपर्छ र जोखिम क्षेत्रका वस्ती पहिचान गर्नुपर्छ’ मौसमविद् पौडेलले भने, ‘आजैदेखि सावधानीका उपायहरु अपनाउनु जरुरी छ ।’ मनसुन समयमा रातभर पानी पर्न सक्ने भएकाले जोखिम पहिचान भएका ठाउँमा विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

‘यस्तो बेला जनधनको क्षति हुनसक्ने र रोगहरु फैलने सक्ने भएकाले स्वास्थ्य सावधानी पनि अपनाउनुपर्छ’ उनले भने, ‘झाडापखाला, जन्डिस र भाइरल ज्वरोजस्ता मौसमी रोग फैलन सक्छन् । यहीबेला कोरोना कहर पनि भएकाले स्वास्थ्य सावधानी अपनाउनु जरुरी छ ।’

समयमै मनसुन सुरु भएकाले किसान र खेतीपातीका लागि सुखद अवसर भएको विभागले जनाएको छ । ‘सुखद अवसर भएपनि यसबाट आइपर्ने विपतको लागि तयारी अवस्थामा रहनुपर्छ’ मौसमविद् पौडेलले भने । पछिल्लो समय दक्षिण एसियाको मौसम प्यार्टनमा केही बदलाव आएकाले आफूहरुले अनुसन्धान गरिरहेको समेत पौडेलले बताए ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुनसक्ने अनुमान यसपटकको मनसुनमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर