तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान – Nepal Press

तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख २५ हजार रुपैयाँ, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।

तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार-प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष थिए । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पीपीइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्ध वृद्धालाई पीपीइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।

समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताए ।

नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौं र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताए ।

लुम्बिनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बेलायतको लण्डन शहरको वाटफोर्ड जनरल अस्पतालका नेपाली चिकित्सकको अग्रसरतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाइएको छ । वाटफोर्ड अस्पतालमा कन्सलट्यान्ट फिजिसियनका रूपमा कार्यरत डा. मोहन थापाले संयोजनकारी भूमिका गरी थालनी गरेको सहयोग अभियानमा सोही अस्पतालमा कार्यरत भारतीयमूलका अन्य चिकित्सकहरूले आफ्नो संस्था बिएपीआइओबाट सहयोगमा गरेका थिए ।

यसरी सङ्कलन गरिएको कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई बिहीबार हस्तान्तरण गरिएको डा. थापाले जानकारी दिए । बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज युकेका अध्यक्ष प्रा सत्येन राजभण्डारी तथा नेप्लिज डक्टर्स एशोसिएशन युकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यस्तै स्थानीयस्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थापाले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हालसम्म पाएको सहयोगको सबैभन्दा बढी मात्रमा यसपटक सहयोग पाएको र कोभिडसँग लडिरहेका बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी हुने बताउँदै सबै सहयोगीलाई डा. खनालले धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर