गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ? – Nepal Press

गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?

पोखरेल भन्छन्- बहुमत जुटिसक्यो

काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।

हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

हिजो कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ ।

पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए । उनले भने, ‘हामीसँग बहुमत छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं ।

दीपक मनाङे तपाईंहरूको सम्पर्कमा हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हुनुहुन्छ-हुनुहुन्छ, सबै हुनुहुन्छ ।’

अहिले गण्डकी प्रदेशसभाको वैठक सुरू हुँदैछ । संविधानअनुसार अब प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि बहुमतको समर्थनसहित दावी पेश गर्न आह्वान हुने छ । कुनै पनि प्रदेश सांसदले बहुमत देखाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेस गर्न सक्छन् ।

यसअघि पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको थियो । एक महिनाअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्दा कसैले पनि दावी पेस गर्न सकेका थिएनन् । त्यसपछि संसदको ठूलो पार्टीको हैसियतमा गुरुङ नै पुन मुख्यमन्त्री नियुक्त भएका थिए ।

अहिले जनमोर्चाका दुई सांसद र मनाङे विपक्षी गठवन्धनमा खुलेका छन् । जनमोर्चाका एक सांसद भने तटस्थ छन् । यसअघि पार्टीको ह्वीप उल्लंघन गरेको भनेर सांसदबाट बर्खास्त भएका थापालाई अदालतले पुनर्वहाली गरेको थियो । हिजोको मतदानमा पनि उनले जनमोर्चाको ह्वीप नमानी तटस्थ बसेका थिए । पार्टीले फेरि उनलाई कारवाही गरेको छ ।

तर, अब मनाङे आएपछि थापाको समर्थनबिना पनि पोखरेलसँग बहुमत जुटेको छ ।

को हुन् कृष्णचन्द्र पोखरेल ?

नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर