आरजु देउवाको त्यो वचन, वनमन्त्री रानाको यो वचन – Nepal Press

आरजु देउवाको त्यो वचन, वनमन्त्री रानाको यो वचन

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा गत संसदीय निर्वाचनमा कैलाली-५ बाट पराजित भएकी थिइन् । वाम गठबन्धनबाट उठेका एमाले नेता नारदमुनि रानासँग ५ हजार मतको फराकिलो अन्तरले हारेपछि आरजुले पत्रकार सम्मेलन गरिन् ।

२०७४ मंसिर २५ मा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आरजुले भनिन्, ‘मलाई एमालेको नारदमुनि रानाजीले पराजित गरेको भए पनि यो क्षेत्रको विकासका लागि उहाँलाई मन्त्री बनाउन म पहल गर्छु ।’

निर्वाचनमा कैलाली-५ बाट निर्वाचित रानाले २७ हजार २ सय २ मत ल्याएका थिए भने पराजित देउवाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

यतिबेला आरजु हराउने रानाले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । कुनैबेला रानालाई मन्त्री बनाउन पहल गर्छु भन्ने आरजु भने ४ महिनादेखि नेपालबाहिर छिन् । स्वास्थ्य उपचारका लागि जापानमा रहेकी उनी कोरोनाबाट उत्पन्न परिस्थितिका कारण नेपाल आउन सकेकी छैनन् ।

गत जेठ १ गते भिडियो सन्देशमार्फत आरजुले आफू अस्पतालबाट डिस्चार्ज भए पनि विषम परिस्थितिका कारण नेपाल आउने वातावरण नबनेको बताएकी थिइन् ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएलगत्तै आरजुले दिएको अभिव्यक्ति सार्वजनिक चर्चाको विषय बनेको थियो । कतिपयले हारेर पनि घमण्ड देखाएको भनी आलोचना गरेका थिए भने कतिपयले उदार अभिव्यक्ति भन्दै प्रशंसा गरेका थिए ।

जे भए पनि मन्त्री बनाउन सहयोग गर्ने प्रतिवद्धता जापानमा भएका कारण आरजुले पूरा गर्न भने सकिनन् । आरजु जापान जाँदा र अहिलेको राजनीतिक अवस्थामा व्यापक हेरफेर भइसकेको छ । यही बदलिँदो राजनीतिका कारण राना मन्त्री बन्न सफल भएका छन् ।

वनमन्त्री बनेसँगै उनले आफू कसैको सहयोगले नभई पार्टी र प्रधानमन्त्रीको विश्वासका कारण मन्त्री बनेको बताएका छन् । ‘मलाई त नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्रीज्यू र पार्टीलाई धन्यवाद दिन चाहन्छु’, रानाले नेपाल प्रेससँग भने ।

मन्त्री बन्न आरजु देउवाको सहयोग कस्तो रह्यो त ? भन्ने प्रश्नमा भने राना सहज देखिएनन् । ‘हार्ने मान्छेहरु ! आफैं जित्न सक्दैन । उसले के मन्त्री बनाउँछ ?’, वनमन्त्री रानाले प्रतिप्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर