नैनकला भन्छिन्- अघिल्ला सञ्चारमन्त्रीले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिन्छु – Nepal Press

नैनकला भन्छिन्- अघिल्ला सञ्चारमन्त्रीले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमन्डलमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएकी नैनकला थापाले ‘समृद्धिका लागि सञ्चार’लाई अगाडि बढाउने बताएकी छिन् ।

भर्खरै विदा भएका निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा उल्लेख्य काम गरेका छन् । गुरुङकै उत्तराधिकारीको रुपमा आएकी नयनकलाको बाहिरी चर्चा छैन । यद्यपि सञ्चार जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्ने सार्मथ्य उनमा छ ।

‘प्रधानमन्त्रीज्यूको दृढ संकल्पका साथ अघि बढाउनु भएको ‘सम्बृद्ध नेपालः सुखी नेपाली’को नारालाई सार्थक बनाउन सञ्चारको महत्वपूर्ण योगदान हुन्छ । यसअघिका सञ्चारमन्त्रीले अघि सारेका परियोजनालाई निरन्तरता दिनेछु’, मन्त्री नियुक्तिपछि नयनकलाले संक्षिप्तमा भनिन् ।

सरकारले समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि ‘एनटिभि वल्र्ड’, आमनागरिकको सरल र सहज पहुँचका लागि डिजिटल नेपाल फ्रेमवर्क, पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार, शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार कार्यक्रम अघि सारेको छ ।

पछिल्लो आर्थिक वर्षका कार्यक्रमहरुमा सरकारी निकायबाट प्रदान गरिने सेवा नागरिक एप्सबाटै, कोभिड–१९ बाट प्रभावित पत्रकारलाई लेखनवृत्ति, श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँ दुर्घटना बीमा, निःशुल्क उपचार रहेका छन् । उक्त कार्यक्रमहरूलाई निरन्तरता दिइने मन्त्री थापाले बाएकी छन् ।

नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न ‘प्रेस संग्रहालय’, दुई वर्षभित्र अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण, सरकारबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच, सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिने लगायत महत्वपूर्ण योजनाहरुमा सरकारले बजेट विनियोजन समेत गरिसकेको छ ।

       

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर