तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को – Nepal Press

तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को

नर्भिक अस्पतालले गर्‍यो उद्धार

काठमाडौं । तीन वर्षअघिसम्म मोडलिङको चमकदमकपूर्ण संसारमा रमाइरहेकी थिइन् निशा घिमिरे । तर, एउटा अकल्पनीय दुर्घटनाले उनको जीवन तहसनहस बनाइदियो ।

२०७५ सालमा अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो थियो ।

नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् । उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ ।

उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालका अनुसार पहिले ६० किलोकी निशा अहिले २० किलो मात्र छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँदी निशा यिनै हुन् भनेर धेरैलाई पत्याउनै मुस्किल पर्छ ।

यो अवधिमा निशाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान नर्भिक अस्पतालले उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगेको छ । हाल उनको नर्भिकमा उपचार सुरु भएको छ ।

नवजीवनका सञ्चालक दाहालले निशाको अवस्थाका बारेमा तस्वीरसहित सहयोग अपिल गर्दै पोष्ट गरेका थिए । त्यसमा नर्भिककी प्रवन्ध निर्देशक मेधा चौधरीको आँखा पर्‍यो । उनले चासो राखिन् र उद्दारको पहल गरिन् ।

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेको थिएन,’ दाहालले भने- ‘उहाँका विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउनुभएको हो ।’

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला,’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि राम्रो हुन्छ ।’

हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् ।

हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्,’ निशाका बुबाले भने- ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

बाँच्लिन् भन्ने आशै थिएन

प्रेमप्रसाद घिमिरे (निशाका बुबा)

दुई साल अगाडिको घटना हो । २०७६ सालको पुस १५। १६ गतेको घटना हो । डिप्लोमा पढ्छु भनेर इन्डिया गएकी थिइन् । उसको घटना भैसकेपछि मोबाइल पुलिसले भेटायो । त्यहाँमार्फत हामी पत्ता लगायौं । लगत्तै हामी देहरादुन गयौं । त्यहाँको एक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । त्यो बेला बाँच्ला भन्ने आशा थिएन । २० दिन त्यहाँ उपचार गरेपछि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएर भर्ना गरियो । बनेपाको स्पाइनलर इन्जुरी अस्पतालमा पनि लग्यौं । त्यहाँ पनि नभएपछि कोठामा ल्याएर राख्यौं । कोभिडको लहर सुरु भएपछि अहिले घरमा ल्यायौं । गाईको दूध बेचेर कमाएको पैसाले जसोतसो उसलाई खुवाएर राखेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर