१४ वर्षकी छात्राले आफ्नो किताबमा देशको नयाँ नक्सा नभेटेपछि… – Nepal Press

१४ वर्षकी छात्राले आफ्नो किताबमा देशको नयाँ नक्सा नभेटेपछि…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएको पाठ्यपुस्तक जफत गर्न बुधबार निर्देशन दिए ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए ।

सरकारले कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिसकेपछि नयाँ नक्सासहितको पाठ्यपुस्तक छपाइ भएको छ । तर, केहीले पुरानै नक्सा छापेर बिक्री गरेको जानकारी पाएपछि मन्त्रीले आक्रामक शैलीमा निर्देशन दिए ।

हुन त मन्त्रीले यसबारे सूचना पाएर कदम चालेको बताएका थिए । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको कुरा मन्त्रीसामु कसरी आइपुग्यो भन्ने एउटा रोचक कुरा छ ।

मन्त्रीले यो जानकारी कक्षा ९ मा पढ्ने एक किशोरीबाट थाहा पाएका हुन् ।

नयाँ नक्सा नभेटेपछि

कीर्तिपुर बस्ने सर्वश्री केसी नयाँ यो शैक्षिक सत्रबाट कक्षा ९ मा पुगिन् । उनलाई आफू पढ्ने युलियन्स स्कूलले कक्षामा पढाइने किताबको सूची पठाएर आवश्यक पाठ्यपुस्तक किन्ने सूचना अनलाइनबाटै दियो ।

पाँच दिनअघि बुबा प्रोफेसर खड्ग केसीले सूची अनुसारका किताब बजारबाट किनेर ल्याइदिए । सर्वश्रीले किताब पाउने बित्तिकै सामाजिक किताब पल्टाउन थालिन् ।

देशको इतिहास र भूगोलमा निकै चासो राख्ने उनलाई हेर्न मन थियो- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ चुच्चे नक्सा !

उनले किताब पल्टाइन् । तर कतै नयाँ नक्सा देखिनन् । ‘म अचम्मित भएँ, पाठ्यक्रममा आउँछ भनेर भनिसकेको थियो । अहिलेसम्म किन आएन । मेरो चिन्ता त्यसमा रह्यो,’ नेपाल प्रेससँगको कुराकानीमा सर्वश्रीले भनिन् ।

त्यसपछि उनले बाबालाई भनिन्, ‘बाबा, हामीले पुरानै नक्सा पढ्ने हो ?’

छोरीको प्रश्नले प्रोफेसर खड्ग केसीले सर्सस्ती किताबका पाना पल्टाए । उनी पनि चकित भए । त्यसपछि उनले आफ्नो चिनजानकी विघटित प्रतिनिधिसभा सदस्य तथा एमाले नेतृ विन्दा पाण्डेलाई फोन गरेर यसबारे जानकारी गराउँदै भने, ‘नयाँ नक्सा जारी गरिएको भनिएको थियो । तर पाठ्यक्रममा पुरानै नक्सा कसरी ?’

बिन्दा पनि आश्चर्यमा परिन् । उनले सर्वश्रीसँग कुरा गरेर चासो जनाउँदै भनिन्, ‘छोरी म शिक्षामन्त्रीलाई भनिदिन्छु । अहिले त्यो किताबको नक्सा मलाई पठाऊ ।’

बिन्दा पाण्डेले किताबको नक्साको फोटो सर्वश्रीबाट प्राप्त गरिन् । त्यसपछि ८ वटा पेज पीडीएफमा कन्भर्ट गरेर शिक्षामन्त्रीलाई पठाइन् । सूचना पाएपछि शिक्षामन्त्री श्रेष्ठले भने, ‘यो गम्भीर कुरा हो । म तत्काल एक्सन लिन्छु ।’

त्यसको चार दिनपछि शिक्षामन्त्रीले यसबारे निर्णय गरे ।

‘सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसारअनुसार कारबाही गर्नु,’ मन्त्रीले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिँदै भनेका छन् ।

अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

त्यसलगत्तै अनुसन्धान गर्दै जाँदा केन्द्रले अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाएको छ ।

चार दिनपछि बुधवार साँझ शिक्षामन्त्रीको निर्देशनबारे सर्वश्रीले थाहा पाइन् । आफूले प्रमाणसहित पठाएको कुरामा चासो देखाएर कार्यान्वय गरेकोमा उनी खुसी छिन् । उनले भनिन्, ‘विन्दा आन्टी र शिक्षामन्त्रीज्यूलाई धन्यवाद !

याे पनि पढ्नुहाेस् ।

लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *