खगराजले मागेको ३१ नम्वर वडा त गृह मन्त्रालय पो रहेछ ! – Nepal Press

खगराजले मागेको ३१ नम्वर वडा त गृह मन्त्रालय पो रहेछ !

पृथ्वीनारायण क्याम्पसको सभापतिदेखि एमाले नेतृत्वसम्म खगराजको खरो यात्रा

काठमाडौं । रघुवीर महासेठ उपप्रधानमन्त्री भइसकेपछि धेरैले अनुमान लगाइसकेका थिए अब गृहमन्त्रीमा खगराज अधिकारी आउन सक्छन् । एमाले स्थायी कमिटीमा सबैभन्दा जुनियर महासेठ उपप्रधानमन्त्री भइसपछि उनीभन्दा सिनियर नेता मन्त्री बनेर जाने सम्भावना थिएन ।

नभन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सदाबहार सहयोगी खगराजलाई गृहजस्तो हाइ प्रोफाइल मन्त्रालयको जिम्मेवारी दिए । एमालेको राजनीतिमा अधिकारी पुरानो अनुहार नै हुन् तर पार्टीको पोर्टफोलियोमा भने उनी ‘लो प्रोफाइल’ नेता हुन् ।

संसदीय राजनीतिमा खगराज नाम अनुसारकै खरो सांसदका रूपमा परिचित छन् । २०५१ सालमै एमालेको संसदीय दलको सचेतक बनेका अधिकारी २०७४ मा केही समय प्रमुख सचेतक बने । संसदमा विपक्षमाथि ठाउँको ठाउँ नियमावलीका दफा समातेर नियमापत्ति गर्ने र प्रतिवाद गर्ने स्वभावका कारण उनी चर्चित छन् ।

खगराज दुईपटक मन्त्री बने र दुवै पटक ‘महत्वपूर्ण मन्त्रालय’को जिम्मेवारी पाए । २०७१ सालमा सुशील कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्रीका रूपमा खगराजको नाम आउँदा धेरैले निधार खुम्च्याएका थिए । खगराजबाट स्वास्थ्य मन्त्रालयले चल्छ र ? भनेर ।

तर, मन्त्रालयबाट बाहिरिदै गर्दा उनी सफल स्वास्थ्यमन्त्रीमा दरिए । स्वास्थ्य बीमा कार्यक्रम उनकै पालामा शुरु भएको थियो । स्वास्थ्य मन्त्रालयभित्रको ब्यथितिको जालो धेरै हदसम्म उनले छिचोलेका थिए । जसका कारण अहिले पनि उनलाई सफल स्वास्थ्य मन्त्रीका रूपमा त्यहाँका संयन्त्रहरूले सम्झिन्छन् ।

त्यो सफलताकै कारण होला उनी एमालेको स्वास्थ्य विभाग प्रमुख पनि हुन् । हालै सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि ल्याएको अध्यादेशको मस्यौदा पनि अधिकांश उनैको सिफारिस अनुसार भएको बताइन्छ । धेरैले उनलाई स्वास्थ्यमन्त्रीकै रूपमा पुनः आउने अपेक्षा गरेका थिए तर त्यो भन्दा महत्वपूर्ण मानिने गृह मन्त्रालय पाए ।

२०५६ र २०६४ सालको चुनावमा पराजय व्यहोरेका अधिकारी २०७४ सालमा पुनः निर्वाचित भएर आए । नेकपा एकीकरण हुनुपूर्व उनी एमालेको प्रमुख सचेतक समेत थिए । पार्टी एकतापछि देव गुरुङ प्रमुख सचेतक भएपछि उनी बाहिरिए ।

प्रधानमन्त्रीपछि सबैभन्दा महत्वपूर्ण मानिने र हाइ प्रोफाइल नेताले जिम्मा पाउने गरेका मन्त्रालय हुन् अर्थ र गृह मन्त्रालय । यसपट ओलीले अर्थमा विष्णु पौडेल र गृहमा खगराजलाई जिम्मेवारी दिएका छन् । पार्टी र मूल नेतृत्व केपी ओलीलाई सधैँ साथ दिएका अधिकारीले उपयुक्त जिम्मेवारी पाएको एमाले पर्वतका अध्यक्ष समेत रहेका विघटित प्रतिनिधिसभाका सदस्य पदम गिरीले बताए ।

को हुन् अधिकारी ?

नेकपा एमालेका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य अधिकारी यसअघि एमालेको वैकल्पिक पोलिटव्यूरोसम्म पुगेका थिए । नवौं महाधिवेशनमा केपी ओली अध्यक्ष जित्दा उनका निकट सहयोगी खगराज अधिकारी, महेश बस्नेत, गोकुल बास्कोटाहरू पराजित भएका थिए ।

खगराज एक मतले केन्द्रीय सदस्यमा पराजित भए पनि नेकपा एमाले र माओवादी एकीकरणका क्रममा उनी केन्द्रीय कमिटीमा समेटिएका थिए । उनी एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र पोलिटब्यूरोमा चुनिएका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनका एक अगुवा खगराज अनेरास्ववियूको उपाध्यक्षसम्म भए भने देशके ठूलो र आन्दोलनको अग्रणी मानिने पृथ्वीनारायण क्याम्पस पोखराको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभाापति निर्वाचित भएका थिए ।

पृथ्वीनारायण क्याम्पस यस्तो ठाउँ हो जहाँबाट सभापति बनेकाहरु प्रायः देशको राजनीतिमा अग्रभागमा छन् । खगराज पनि सोही क्याम्पसको राजनीतिमा उदाएको पिएनका पूर्व सभापति गिरी बताउँछन् ।

पञ्चायत शासन ढलेपछि खगराज पार्टीको राजनीतिमा कास्की जिल्लाको नेतृत्व गरेर अघि बढे । २०४८ सालमै संसदीय चुनाव लडेका अधिकारी कांग्रेसका नेता तारानाथ रानाभाटसँग पराजित भए ।

२०५१ सालमा उनले कांग्रेसको तत्कालीन महामन्त्री रानाभाटलाई नै पराजित गरेर संसदमा आउने मौका पाए । त्यही बेला उनलाई एमालेका तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतक नियुक्त गरे । अधिकारी संसदीय राजनीतिमा त्यसबेलै स्थापित भए ।

२०५६ र २०६४ सालको चुनावमा पराजय व्यहोरेका अधिकारी २०७४ सालमा पुनः निर्वाचित भएर आए । नेकपा एकीकरण हुनुपूर्व उनी एमालेको प्रमुख सचेतक समेत थिए । पार्टी एकतापछि देव गुरुङ प्रमुख सचेतक भएपछि उनी बाहिरिए ।

संसदमा सरकारको दह्रो प्रतिरक्षामा उभिने सांसदमा अधिकारी रहे । विद्यार्थी कालदेखि अहिलेसम्म निष्ठापूर्वक लागेको र केपी ओलीको टिमको सशक्त नेता भएकाले खगराजले गृहमन्त्रालय राम्रोसँग चलाउने गिरीले बताए ।

गृहमा खगराजको इन्ट्रीसँगै एमालेमा पछिल्लो कार्य विभाजनको बैठकमा उनले मागेको जिममेवारी ३१ नम्बर वडा फेरि चर्चामा आएको छ । गण्डकीको इन्चार्जमै दावी गरेका अधिकारीले सहइन्चार्जबाट समेत हटाइएपछि बैठकमा आपत्ति जनाएका थिए ।

उनले भनेका थिए, ‘अध्यक्ष कमरेड,मैले भूगोलको जिम्मेवारी मागेको थिएँ । यो परिस्थितिमा मैले भूगोलमै काम गर्न पाउँ भनेको तर भूगोलबाट विदा स्वास्थ्य विभागमा नाम हालिएछ ।’

अध्यक्ष ओलीले के गरौं त अब ‘के आर’ (खगराजलाई के आर पनि भन्छन्) कमरेड ? भनेर उपाय मागेपछि अधिकारीले व्यंग्यात्मक शैलीमा भनेका थिए- मलाई पोखरा महानगरपालिकाको ३१ नम्वर वडा कमिटीमा राखियोस् कमरेड ।

अधिकारीले यसो भन्दा हाँसो चल्यो र ३१ नम्बर वडा चर्चित पनि भयो । एक केन्द्रीय सदस्यले त्यो बैठक सम्झिँदै भने, ‘३१ नम्वर वडा भनेको त गृह मन्त्रालय पो रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर