धौलागिरी अस्पतालमा घटे संक्रमित – Nepal Press

धौलागिरी अस्पतालमा घटे संक्रमित

बागलुङ । महिना दिनअघि धौलागिरी अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना संक्रमितले भरिभराउ आइसोलेशन शय्या, अक्सिजनको चरम अभाव, ‘आइसीयू’ मा गम्भीर बिरामीको चाप, दैनिकजसो सङ्क्रमितको मृत्युले भयावह भएको थियो ।

अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । संक्रमणपछि अस्पताल आउनेको संख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । ‘पछिल्लो एक सातायता अस्पतालमा आधा संक्रमित घटेका छन्’, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपथ्र्यो, अहिलेको संख्या १५/२० को हारीहारी छ ।’

बुधबार भने जम्मा १३ संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शय्या अहिले खाली छन् । ‘वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ’, प्रमुख चिकित्सक पोखरेलले भने, ‘अहिले केही सहज छ, संक्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।’

रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः संक्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो संक्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ । बालबालिकाका लागि छुट्टै आइसोलेशनकक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण/सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।

न्यून चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकका भरमा अस्पताल महामारीसँग सङ्घर्षरत छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि स्रोत साधनको कमी छ । कोरोनाको दोस्रो लहरयता अक्सिजनको अभाव व्यहोरेको यस अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया थालिएको छ ।

सङ्घ सरकारको लगानीमा बन्ने प्लान्टका लागि बोलपत्र टुङ्गिइसकेकाले अब सम्झौता हुन मात्र बाँकी छ । डेढ सय जति अक्सिजन सिलिण्डर पनि जोहो गरिएको अध्यक्ष रानामगरले बताए । आउने जुनसुकै अवस्थाका लागि अस्पताललाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।

संक्रमणको चक्र तोड्न अहिले गाउँ-गाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । जसका कारण परीक्षणको दायरा पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै एक हजार छ । ९ सय बढी संक्रमित होम आइसोलेशनमा छन् । लक्षणले च्याप्दै गएर स्वास्थ्यमा समस्या देखिएका संक्रमित मात्र अस्पताल आउने गरेका छन् । अस्पताल आएकामध्ये पनि अधिकांश सामान्य उपचारबाट निको हुन्छन् । श्वासप्रश्वासमा समस्या आइ बिरामीको अवस्था गम्भीर बनेमा ‘आइसीयू’ र भेण्टिलेटरमा राखेर उपचार गरिन्छ । हालसम्म यहाँका चार हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर