कर्णालीमा वृद्धवृद्धा किसानलाई थप ५ सय भत्ता – Nepal Press

कर्णालीमा वृद्धवृद्धा किसानलाई थप ५ सय भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले वृद्धवृद्धा किसानलाई ‘कृषक पेन्सन कार्यक्रम’ मार्फत मासिक थप पाँच सय भत्ता दिने योजना ल्याउने भएको छ ।

कर्णाली योजना आयोगका अध्यक्ष डा. सर्वराज खड्काले यो योजनाबाट कर्णालीका १४ हजारभन्दा बढी कृषक लाभान्वित हुने बताए ।

‘जीवनभर कृषि पेसा अँगालेका कृषकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन हामीले यो कार्यक्रम ल्याउन लागेका हौं ’, उनले भने, ‘यसले कृषि पेसा गर्नेहरुका लागि पनि राज्य छ भनेर युवालाई समेत उत्प्रेरणा मिल्नेछ ।’

योजना आयोगले मासिक दुई हजारको कुरा गरेपनि सरकारले भने पाँच सयमात्रै दिन सक्ने बताएको छ । पाँच सयको दरमा बजेट दिए वार्षिक ८४ करोड यही शीर्षकमा खर्च हुनेछ ।

‘यो योजना अहिलेलाई वृद्ध भत्ता पाउनेहरूका लागि हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा नै यो भत्ता वितरण गरिनेछ ।’ डा. खड्काले भने ।

सरकारले नयाँ नीति तथा कार्यक्रममा यो योजना ल्याउनु राम्रो भएको प्रदेशसभा सदस्य पद्‍मा खड्काले बताइन । ‘कार्यक्रम राम्रो छ तर रकम भने कम छ ’, उनी भन्छिन्, ‘केही रकम थप गरेर, सरकारले यसलाई अन्य पेन्सन पाउनेहरूलाई नदिने गरी कार्यविधि बनाएर लागू गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *