प्रदेश-२ मा सरकारले आज सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै – Nepal Press

प्रदेश-२ मा सरकारले आज सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

जनकपुरधाम । प्रदेश-२ सरकारले आज अगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सभामुख सरोज कुमार यादवले आफ्नो पहिचान झल्किने पोशाक लगाएर साढे २ बजे नै प्रदेशसभामा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेका छन् । अगामी वर्षको नीति तथा कार्यक्रम कोभिड-१९ मा केन्द्रित रहने बताइएको छ । अर्थमन्त्री विजय यादवले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेर बुधवार राति मात्रै नेपाली कांग्रेसलाई ३ मन्त्री दिएर सकारमा सहभागी गराएको भोलिपल्ट आह्वान गरिएको प्रदेशसभा बैठकमा महन्थ ठाकुर पक्षका सांसदहरु आज सदनमा उपस्थित हुने/नहुने विषयमा अन्योलमा छन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकाले सदनमा उपस्थित हुने कि नहुने विषयमा छलफल गरिरहेको र केहिबेरमै आवश्यक निर्णय लिने महन्थ ठाकुर पक्षका सांसद परमेश्वर साहले जानकारी दिए ।

प्रदेशसभामा सत्तारुढ जसपाको ५५ (तत्कालीन समाजवादी पार्टी ३० र तत्कालीन राजपा २५) र नेपाली कांग्रेसका १९ सांसद छन् । तत्कालीन राजपाका ६ सांसद उपेन्द्र पक्षमा लागेका छन् । अहिले महन्थ ठाकुर पक्षमा सभामुखसहित १९ सांसद मात्र छन् ।

१ सय ७ सदस्यीय प्रदेशसभामा माओवादीका तीन सांसद पदमुक्त हुँदा अब १ सय ४ सदस्य छन् । जसमध्ये माओवादीको ८, नेकपा एमालेका २१ र नेपाल जनता समाजवादी पार्टीका १ सांसद छन् । माओवदी अहिले सरकारमा नआए पनि सहयोग गर्ने बताइएको छ ।

तत्कालीन राजपाका १९ सांसदले सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग नगरे पनि समस्या हुने छैन । तर नीति तथा कार्यक्रमको विरोध गर्ने आफ्ना सांसदलाई जसपाले कारबाही गर्नसक्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर