गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए – Nepal Press

गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।

गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर