लक्षित उमेर समूहभन्दा अन्यको भीड बढेपछि रुपन्देहीका चार स्थानीय तहमा खोप कार्यक्रम स्थगित – Nepal Press

लक्षित उमेर समूहभन्दा अन्यको भीड बढेपछि रुपन्देहीका चार स्थानीय तहमा खोप कार्यक्रम स्थगित

रुपन्देही । चीन सरकारले पछिल्लोपल्ट अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई लगाउने सरकारी निर्णय छ । तर, भनसुन, पहुँच र कमजोर व्यवस्थापनको फाइदा उठाउँदै लक्षितभन्दा कम उमेरसमूहका नागरिकको भीड बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित भएको छ ।

केही ठाउँमा अत्यधिक भिड र आवश्यकता अनुरुपको खोप नहुनु तथा केही स्थानमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको स्वार्थ बाझिँदा खोप कार्यक्रम विवादित भएको हो ।

केही जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले आवश्यकता भन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउँमा लक्षित उमेर भन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको जनाएका छन् ।

जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिकामार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।

सुरुको दिनमै खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुँदा खोप कार्यक्रम स्थगित भएको बताए ।

६४ प्रतिशतले लगाए खोप

रुपन्देहीमा लक्षित समूहका ६४ प्रतिशतले भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार पहिलो दिन लक्षित उमेर समूहका ९ हजार जनाले पहिलो डोज लगाएका छन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्बाट ६० देखि ६४ वर्ष उमेर समूहमा ९ हजारलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

गिरीका अनुसार जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ९ हजार जनालाई पहिलो डोज भेरोसेल दिइएको । हरेकजसो पालिकाहरुमा लक्ष्यभन्दा कम खोप लगाएको तथ्यांकले देखाएको छ । बुटबल उपमहानगरपालिकामा २२ सय ८१ लक्ष्य राखिएकोमा जम्मा २१ सय ३० जनाले खोप लगाएका छन् ।

त्यस्तै देवदह नगरपालिकामा ८ सय ५६ लक्ष्य रहेकोमा ६ सय ७ जनाले खोप लगाएका छन् ।

तिलोत्तमामा १६ सय १४ लक्ष्य भए पनि १५ सय ५३ जनाले खोप लगाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४ सय ५४ लक्ष्य भएपनि २ सय ४६ जनाले मात्र खोप लगाएका छन् ।

सैनामैनामा भने लक्ष्य अनुसार नै खोप लगाइएको छ । सैनामैनामा ९ सय १५ जनाले खोप लगाएका छन् । सिद्धार्थ नगरपालिकामा ७ सय ९७, गैडहवामा २ सय २८, कञ्चनमा ३ सय ५९ कोटहीमाई गाउंपालिकामा ६१, मर्चवारी गाउँपालिकामा ८९, मायांदेवी गाउंपालिकामा ३ सय १३, ओमसतियामा ४ सय १५, रोहिणीमा ३ सय ८८, सम्मरीमाईमा ८८, सियारी गाउँपालिकामा ३ सय ९०, शुद्धोधनमा ४ सय ११ गरी जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *